१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नागरिक अगुवाहरूद्वारा अर्थमन्त्री शर्माको राजीनामा माग


1.547k
Shares

काठमाडौं । नागरिक अगुवाहरूले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन् ।

पूर्व प्रधानन्याायधीश शुशीला कार्की, पूर्वउपकुलपति केदार भक्त माथेमा र डा. गोविन्द केसीले आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै अनाधिकृत व्यक्तिको बजेट निर्माणमा संलगनता नभएको प्रमाणित गर्न या त पदबाट राजीनामा दिन माग गरेका हुन् ।

प्रेस विज्ञप्तिमा अर्थमन्त्री शर्माविरुद्ध बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्ति संलग्न भएको र उनीहरूकै इशारामा करको दायरा हेरफेर गरिएको र सो विषयमा छानविन समिति गठन गर्नुपर्ने संसदीय समितिको निर्देशन सत्तारुढ गठबन्धनका दलहरुले लत्याएको आरोप लगाइएको छ ।

साथै, शर्माले चित्तबुझ्दो जवाफ समेत नदिएको र उक्त समयको सीसीटिभी फुटेज समेत हटाइएको भन्दै नैतिकता गुमाएको व्यक्ति पदमा बसिरहदा सरकारको छवि थप धुमिल हुने उल्लेख गरिएको छ ।

यस्तै नागरिक अगुवाहरूले सिसिटीभी जडान तथा सञ्चालन कार्यविधि २०७२ उल्लंघन गर्ने कार्यमा संलग्न व्यक्ति वा निकाय वा दुवैलाई तत्काल कानूनबमोजिम कारबाही गर्न पनि माग गरेका छन् ।

यस्तै उहाँहरूले बाराको निजगढ भ्रमणमा सत्ता गठबन्धनका नेताहरूले निजगढमानै विमानस्थल बनाउने प्रतिवद्धता गरेको तर सर्वोच्च अदालतले कायम गरेका बन्देज र दिएको आदेश पालना गर्ने कुरा खुलेर नभनेकोमा समेत गम्भीर आपत्ति जनाएका छन् ।

यस्तै उक्त अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धी कुनै पनि काम गर्दा अदालतको आदेश प्रतिकूल वा मानहानि हुने गरी नगर्न पनि ध्यानाकर्षण गराएका छन् ।