१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अटोमोबाइल्स व्यवसाय बच्नेगरी मौद्रिक नीति ल्याउन अध्यक्ष थापाको सुझाव


104
Shares

काठमाडौं । नाडा अटो मोबाइल्स एशोसिएशनका अध्यक्ष ध्रुव थापाले अटोमोबाइल्स व्यवसाय बच्नेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन सुझाव दिनुभएको छ ।

आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकले आयोजना गरेको सुझाव संकलन कार्यक्रमा बोल्दै अध्यक्ष थापाले यस्तो सुझाव दिनुभएको हो । उहाँले विगत ८÷१० महिनादेखि अटो व्यवसाय ठप्प रहेको भन्दै अटो क्षेत्रलाई राहत दिने गरेर मौद्रिक नीति ल्याउनुपर्ने बताउनुभयो ।

अध्यक्ष थापाले विगत १० महिनादेखि अटो व्यवसाय ठप्प हुँदा अटो व्यवसायीहरूले बैंकको कर्जा तिर्न नसक्ने अवस्थामा पुगेको बताउनुभयो । सरकारले राजस्वको दर परिवर्तन गर्दा, राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदासमेत अटो मोबाइल्स क्षेत्रलाई उकास्ने किसिमको नल्याउने गरेको गुनासो गर्नुभयो ।

अध्यक्ष थापाले सरकारलाई राजस्व चाहिए पनि अटो क्षेत्रलाई खोज्ने र आयातमा कडाइ गर्नुपरे पनि अटो क्षेत्र खोज्ने अभ्यास भएको भन्दै अटो क्षेत्र चुरोट, रक्सीको क्याटागोरीमा राखिन थालेको गुनासो गर्नुभयो ।

अध्यक्ष थापाले गाडीको हायर पर्चेज ७० प्रतिशतबाट ५० प्रतिशतमा झारेको, जोखिम भार ७५ प्रतिशतबाट १५० प्रतिशतमा पुर्‍याएको, एलसी खोल्दा १०० प्रतिशतसम्म मार्जिनका विषयमा मौद्रिक नीतिले परिमार्जन गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष थापाले गाडीमा जोखिम भारको कारण बजारमा तरलता सहज हुँदासमेत फाइनान्स हुन नसक्ने अवस्था सिर्जना भएको बताउनुभयो । उहाँले अहिले अटो व्यवसाय ७० देखि ८० प्रतिशतसम्म ठप्प रहेको जिकिर गर्नुभयो ।