
एजेन्सी । दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभु अब छिटै नै बलिउडमा (हिन्दी फिल्ममा) डेब्यू गर्दैछिन् ।
सामन्थाले बलिउड अभिनेता आयुष्मान खुरानासँग आफ्नो पहिलो बलिउड फिल्मका लागि हस्ताक्षर गरेकी छन् । सामन्थालाई फिल्मको कथा मन परेपछि उनले उक्त फिल्ममा काम गर्न लागेकी हुन् ।
सामन्थाले अमेजनको प्राइम वेब सिरिज ‘द फ्यामिली म्यान’को सिजन २ बाट आफ्नो डिजिटल डेब्यु गरिसकेकी छिन् । त्यसयता उनका प्रसंशकहरूले उनको बलिउड डेब्युका लागि प्रतिक्षा गरिरहेका थिए ।भारतीय सञ्चार माध्यमका अनुसार फिल्म निर्माताले सामन्थाले डेब्यु गर्न लागेको फिल्मका बारेमा कुनै जानकारी दिएका छैनन् । वर्षको अन्त्यतिरबाट मात्रै फिल्मको छायाङ्कन सुरु हुने र सन् २०२३ को अन्त्यमा फिल्म प्रदर्शन हुनेछ । फिल्मलाई कस्ले निर्देशन गर्दैछन् भन्ने कुरा अझैसम्म टुङ्गो लागेको छैन् ।
योसँगै सामन्थाले पौराणिक महाकाव्यमा आधारित अर्को बलिउड फिल्म पनि हस्ताक्षर गरिसकेको र उक्त फिल्मको सुटिङ सन् २०२३ बाट सुरु हुने समाचारमा उल्लेख छ । मोडलको रुपमा आफ्नो अभिनय यात्रा सुरु गरेकी सामन्थाले दक्षिण भारतका निकै ब्लकबस्टर फिल्ममा अभिनय गरेकी छन् । यति मात्रै नभएर दक्षिण भारतको सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्रीहरूमा सामन्था पहिलो नम्बरमा पर्छिन् । सामन्थाले सुपरहिट फिल्म ‘पुष्पा’ को आइटम गीत ‘उ आन्तावा’ का लागि ५ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएकी थिइन् ।
पछिल्लो समय सामन्था दक्षिण भारतीय अभिनेता नागा चैतन्यसँग सम्बन्ध बिच्छेद गरेर एक्लै बस्दै आएकी छन् । उनीहरूको सम्बन्ध बिच्छेद के कारणले भएको हो त्यो अझै खुल्न सकेको छैन् ।
प्रतिक्रिया दिनुहोस्