
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएको छ ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्थमन्त्री शर्माले संसदीय छानविन समितिलाई छानविनमा सहयोगका लागि मार्गप्रशस्त गरेको बताउनुभयो ।
राजीनामा माग्ने नागरिक समाज, नागरिक अगुवा र सम्पूर्ण नागरिहरूको सम्मानका खातिर आफूले राजीनामा गरेको उहाँले बताउनुभयो ।
राजीनामा दिनुअघि प्रतिनिधिसभाले उहाँमाथि छानविन गर्न ११ सदस्यीय छानविन समिति गठन गरेको थियो । उक्त समितिलाई काम सुरु गरेको १० दिनभित्र प्रतिवेदन बुझाउन सभामुख अग्निप्रसाद सापकोटाले निर्देशन दिनुभएकाे थियाे ।
समितिमा सांसदहरू खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल गौतम, सुरेन्द्र यादव, प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सिताराम महतो रहेका छन् ।
सभापति आफैँ चयन गर्न समितिलाई जिम्मा दिइएको छ भने समितिले आवश्यक देखेमा अन्य व्यक्तिले पनि छानविनमा सहयोग पुर्याउन सक्ने सभामुख अग्निप्रसाद सापकोटाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्