१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


राष्ट्रिय महिला फुटबल टोली अभ्यासमा तल्लीन, लक्ष्य साफ च्याम्पियनसिप


26
Shares

काठमाडौं । चीनमा आयोजना हुने १९औं एशियाली खेलकुद कोरोना महामारीका कारण अनिश्चितकालका लागि स्थगित भएको छ ।

यद्यपि नेपालले सहभागिता जनाउने २३ खेल मध्येको महिला फुटबल टोलीले दशरथ रंगशालामा अभ्यास गरिरहेको छ । आगामी भदौमा घरेलु मैदानमा हुने महिला साफ च्याम्पियनसिपमा जित निकाल्ने लक्ष्यसहित महिला टोली अभ्यासमा तल्लीन छ ।

विगतका संस्करणमा सहभागितामा सीमित हुँदै आएको नेपाल पदकमुखी हुँदै तयारी थालेको छ । त्यसका लागि राष्ट्रिय महिला फुटबलले दशरथ रंगशालामा तयारीलाई तीव्रता दिएको छ ।

पहिलोपटक महिला टोली सम्हालेका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले महिला टोलीलाई दैनिक २ घण्टा अभ्यास गराइरहेको बताउँछन् ।

यसबीचमा महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने निश्चित भइसकेको छ । भदौमा हुने सो प्रतियोगिताका पनि नेपाल जितको खोजीमा छ ।

अभ्यासको क्रममा नेपाली टोलीकी भरपर्दो खेलाडी तथा अघिल्लो खेलमा कप्तानको भुमिका निर्वाह गरेकी रेनुका नगरकोटी चोटग्रस्त हुँदै उपचारमा छिन् । उनको घाँटीमुनिको बायाँ हड्डी फ्याक्चर भएको छ ।

यसअघि स्ट्राइकर सावित्रा भण्डारी घुँडाको चोटका कारण मैदान बाहिर रहँदा नेपालले अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेको थिएन । मुख्य प्रशिक्षक महर्जनले रेनुका जस्तो महत्वपूर्ण खेलाडी गुमाउनु पर्दा निकै दुःख लागेको बताए ।

रेनुकाले घरेलु मैदानमा भदौ १३ देखि २५ गतेसम्म आयोजना हुन लागेको साफ च्याम्पियनसिप गुमाउने निश्चित भएको छ भने एशियाली खेलकुद अझै अनिश्चित छ । नेपाली महिला टोली विगतको नतिजामा सुधार ल्याउने लक्ष्यका साथ कडा मिहेनत गरिहेको हो ।

साथै टोली धेरै भन्दा धेरै प्रतियोगितामा अनुभव लिएर अन्तर्राष्ट्रिय सहभागितामा पदक ल्याउने योजनामा छ । त्यसका लागि सम्बन्धित निकायले पहल गर्न उत्तिकै आवश्यक छ ।