१९ फाल्गुन २०८१, सोमबार | Mon Mar 3 2025


बाजुराको बुढीगंगामा भोलि निर्वाचन हुने


260
Shares

बाजुरा । जिल्लाको बुढीगंगा नगरपालिकामा बिहीबार (भोलि) हुने निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

निर्वाचन स्वच्छ, निश्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द अधिकारीले जानकारी दिनुभयो ।

मतदान स्थल र मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबाट सिनियर अधिकृतको कमाण्डमा पर्याप्त सुरक्षाकर्मी परिचालन गरेको उहाँले बताउनुभयो ।

१० वटा मतदानस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट प्रहरी निरीक्षक (इन्सपेक्टर)को नेतृत्वको टोली खटाइएको अधिकारीले बताउनुभयो ।

निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट कर्मचारीहरू मतदान केन्द्रहरूमा पुगिसकेका छन् ।

निर्वाचनका लागि आवश्यक पर्ने सबै तयारी पूरा भइसकेकाले बिहीबार बिहान ७ बजेदेखि मतदान हुने भएको छ । मंगलबार सबै मतदानस्थलको निरीक्षण गरेका अधिकारीले बुधबार पनि मुख्य निर्वाचन अधिकृतसहितको टोलीले निरीक्षण गर्नुभएको थियो ।

चुनावमा निर्वाचन अधिकृत १ जना, सहायक निर्वाचन अधिकृत १ जना, मतदान अधिकृत १९ जना सहायक मतदान अधिकृत १९ जना र अन्य ३८ जना कर्मचारी खटाइएको छ ।

गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै स्थगित गरिएको थियो ।

१० वटा मतदानस्थल र १९ वटा मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित ९५ जना कर्मचारी खटाइएका छन् । बुढीगंगा नगरपालिकामा १२ हजार ६ सय ५९ मतदाता रहेका छन् ।

गत वैशाख ३० गते निर्वाचन भएको बुढीगंगा नगरपालिकामा विवादपछि पुनः मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको थियो । बुढीगंगाका १० वडामध्ये ६ वटामा विवाद भएको थियो ।

वडा नम्बर २, ३, ४, ५, ७ र ९ का केन्द्रमा मतदान स्वच्छ, निश्पक्ष र भयहित वातावरणमा हुन नसकेको भन्दै विवादित बनेको थियो ।

नगरपालिकाको मेयरमा एमालेबाट रामबहादुर बानियाँ, उपमेयरमा माया कुँवर र नेपाली कांग्रेसबाट मेयरमा रंग खाती र उपमेयरमा रिता शाही उम्मेदवार छन् ।