
पाँचथर । राष्ट्रिय महत्वको रूपमा रहेको पाँचथरको राँके रवि ६ नम्बर बुधबारे सडक लथालिंग अवस्थामा पुगेको छ ।
भारतीय निर्माण कम्पनीको लापरवाहीका कारण राँके–रवि–छ नम्वर बुधबारे सडक लथालिंग अवस्थामा पुगेको हो ।
पाँचथरको राँकेदेखि रवि–छ नम्बर बुधबारे हुँदै धनकुटाको भेडेटार जोड्ने १ सय ३ किलोमिटर सडक कालोपत्रे गर्न तोकिएको चारवर्षे अवधिको म्याद गुज्रेको सात महिना बितिसक्दा पनि सडकको काम अगाडी बढेको छैन ।
काम सुरू भएको पाँचवर्ष पुग्न लाग्दासम्म वित्तीय प्रगति १७ प्रतिशत र भौतिक प्रगति १९ प्रतिशत मात्रै भएको सडक डिभिजन कार्यालयले जनाएको छ । सम्झौता सकिँदासम्म न्युनतम ३० प्रतिशत काम गरेकै हुनुपर्छ । मापदण्ड अनुसार काम नभएकाले म्याद थप्न सक्ने अवस्था नभएको कन्सलटेन्ट कम्पनी सिम्याटका इन्जिनियर स्वागत महर्जनले बताउनुभयो ।
३ करोड २६ लाख १८ हजार ५ सय ४१ अमेरीकी डलर लागत रहेको उक्त सडक कालोपत्रे गर्न भारतीय निर्माण कम्पनी एप्को इन्फ्रान्टले नेपाल सरकारसँग २०७५ सालमै सम्झौता गरेको थियो । सम्झौतामा २०७८ साल मंसिर महिनाभित्र काम सक्नुपर्ने उल्लेख छ ।
सम्झौता लगत्तै २०७५ साल पुष २१ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले कालोपत्रे गर्ने कामको उद्घाटन गर्नुभएको थियो । पूर्ण इकाइको ३० प्रतिशत भन्दा कममात्रै काम गरेकोले म्याद थप्दा दैनिक शुन्य दशमलव एक प्रतिशतका दरले नेपाल सरकारलाई जरिवाना तिर्नुपर्छ ।
तर एप्को इन्फ्रान्टका सञ्चालकहरू जरिवाना तिरेर म्याद थप्ने मानसिकतामा देखिएका छैनन् ।
प्रतिक्रिया दिनुहोस्