
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएर नैतिकता प्रदर्शन गरेको भन्दै प्रशंसा गर्नुभएको छ ।
काठमाडौंमा चलिरहेको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै बिहीबार प्रचण्डले शर्माको राजीनामाले नैतिकता र त्यागको सन्देश गएको बताउनुभएको हो ।
संसदमा कुरा उठेपछि प्रष्ट कुरा राखेर नैतिकता प्रदर्शन गर्दै शर्माले राजीनामाले दिएको प्रचण्डको भनाइ थियो । शर्माले राजीनामा नगरेको भए यही विषयलाई उचालेर गठबन्धनलाई नै खतरा पार्ने षड्यन्त्र भएको पनि उहाँले सुनाउनुभयो ।
उक्त डिजाइनलाई त्यागद्वारा जवाफ दिइएकाले यसबारे कार्यकर्ता र जनतालाई भन्नुपर्ने उहाँको भनाइ थियो । शर्माको राजीनामाले राजनीतिक संस्कारको विकास भएको पनि प्रचण्डले दाबी गर्नुभयो ।
आर्थिक वर्ष २०७९/०८०को बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई प्रवेश गरराई करका दर हेरफेर गरेको आरोप लागेका शर्माले बुधबार अर्थमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।
बैठकमा अध्यक्ष दाहालले केन्द्रीय सदस्यले उठाएको जवाफ दिनुका साथै पदाधिकारी प्रस्ताव गर्ने कार्यक्रम पनि रहेको छ । गत आइतबारदेखि काठमाडौंमा जारी बैठकमै पदाधिकारी टुंग्याउन केन्द्रीय सदस्यहरुले दाहालमाथि दबाब दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्