
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादर महरालाई उपाध्यक्ष बनाएको छ ।
बिहीबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले पार्टीको उपाध्यक्षमा नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादर महरालाई चयन गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बैठकले १५६ जनाको पोलिटब्यूरो गठन गरेको बताउनुभयो ।
उहाँले १२५ जना सदस्य र वैकल्पिक ३१ जना सदस्यसहितको पोलिटब्यूरो गठन गरेको र ४१ जनाको स्थायी समिति गठन गरेको जानकारी दिनुभयो । उहाँले अहिले स्थायी कमिटीमा १५ जनाको नाम मात्रै राखिएको पनि स्पष्ट पार्नुभयो ।
त्यस्तै पार्टीका नेता गिरिराजमणि पोखरेलले पदाधिकारीको सन्दर्भमा पनि बैठकमा छलफल भएको र अबको केही दिनमा नै पदाधिकारीको टुंगो लाग्ने बताउनुभयो । उहाँले केन्द्रीय समितिले पूर्णता पाउन ढिला हुँदा पदाधिकारी र कमिटी सदस्यहरू चयन हुन ढिला भएको बताउनुभयो ।
नेता पोखरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल सबै खालका संघर्ष गरेर आएका कारण स्थापित नेतृत्व भएकोले अध्यक्षमा कतिपय कुरा केन्द्रित हुनु स्वभाविक रहेको जिकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्