१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


विपद्का घटनामा परी २ जनाको मृत्यु, ११ जना घाइते

तीन महिनामा ६६ करोड २९ लाख रूपैयाँ बराबरकाे क्षति

39
Shares

काठमाडौं । विपद्का घटनामा पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चट्याङ लागेर बागलुङको निसीखोला गाउँपालिका–६ मा १६ वर्षीया किशोरीको मृत्यु भएको छ ।

यस्तै, कैलालीको टीकापुर नगरपालिका–१ मा १४ वर्षीय बालकको घरमा सुतिरहेको अवस्थामा सर्पले बायाँ कानमा टोक्दा उपचारको क्रममा मृत्यु भएको छ ।

यस्तै, चट्याङ लागेर घाइते हुनेहरूको संख्या सबैभन्दा बढी छ । चट्याङबाट अछाममा ५, दैलेखमा २ तथा बागलुङ, सुर्खेत र रोल्पामा १–१ गरी १० जना घाइते भएका छन् ।

काठमाडौं महानगरपालिका–१३ बाफलमा ग्यास लिक भइ आगलागी हुँदा ३० वर्षीय एक पुरुष घाइते भएका छन् ।

प्राधिकरणका अनुसार वैशाख १ गतेदेखि यता हालसम्म विपद्का घटनामा परी १ सय १६ जनाको मृत्यु भइसकेको छ भने २ सय ६८ जना घाइते भएका छन् । यसबाट यस अवधिमा झण्डै ६६ करोड २९ लाख रूपैयाँ बराबरकाे क्षति भएको छ ।