
काठमाडौं । संसदमा २०७५ साल साउन २२ गतेदेखि विचाराधीन नागरिकता ऐन संशोधन विधेयक फिर्ता भएको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री वालकृष्ण खाँणले मन्त्रिपरिषद्को निर्णयअनुसार विचाराधीन नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नुभयो ।
प्रस्ताव उपर छलफलमा भाग लिँदै सांसदहरूले फिर्ता लिन हुने र नहुने दुवै पक्षबाट मत प्रकट गरे ।
४ वर्षसम्म संसदमा सहमति जुट्न नसकेको विधेयक फिर्ता लिएर नयाँ ल्याउँदा अहिलेकै कार्यकालमा कानुन बनाउन सकिन्छ ? भन्ने सांसदहरूको प्रश्न थियो ।
सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले तत्काल नागरिकता विधेयक ल्याइने बताउनुभयो ।
विचाराधीन विधेयकमा रहेका विवादित विषय कायमै राखेर अगाडि बढाउनभन्दा फिर्ता लिएर नयाँ विधेयक ल्याउँदा समयसापेक्ष र दलीय सहमति जुटाउन सजिलो हुने भएकाले विधेयक फिर्ता लिएको उहाँको प्रष्टीकरण थियो ।
विचाराधीन विधेयक फिर्ता लिएर नयाँ विधेयक ल्याउने निर्णय सबै दलका शीर्ष नेताहरूको सहमतिमा गरिएको गृहमन्त्री खाँणको भनाइ थियो ।
गृहमन्त्री अब बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ विधेयक ल्याउने जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्