२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


सुरु भयो सिमेन्ट निर्यात


1.157k
Shares

सुरु भयो सिमेन्ट निर्यात

काठमाडौं । नेपालबाट पहिलो पटक सिमेन्ट निर्यात भएको छ । पश्चिम नवलपरासीको सुनवल–७ मा रहेको पाल्पा सिमेन्ट इन्डस्ट्रिजले आफ्नो उत्पादन ‘तानसेन’ सिमेन्ट शुक्रबार पहिलो पटक भारत निर्यात गरेको हो । यससँगै देशभरका पाँच दर्जनभन्दा बढी सिमेन्ट उद्योगलाई आफ्नो उत्पादन निर्यात गर्ने ढोका पनि खुला भएको छ ।

शुक्रबार आयोजित कार्यक्रमबीच पाल्पा सिमेन्टले करिब तीन हजार बोरा सिमेन्ट बोकेका ट्रक भारततर्फ पठाएको हो । स्थापनाको चार वर्षमै सिमेन्ट निर्यात गर्ने अवस्थामा पुगेको उद्योगका जनसम्पर्क प्रबन्धक जीवन निरौलाले जानकारी दिए । ‘अब मागका आधारमा दैनिक सिमेन्ट पठाउने तयारी छ,’ उहाँले भन्नुभयो ।

पाल्पा सिमेन्टले पाल्पाको माथागढी–७, रहबासमा रहेको खानीको चुनढुङ्गा प्रयोग गर्दै आएको छ । हाल यो उद्योगले दैनिक एक हजार आठ सय मेट्रिक टन क्लिङ्कर र करिब तीन हजार मेट्रिक टन सिमेन्ट (जडित क्षमताका आधारमा) उत्पादन गर्दै रहेको छ ।

वर्षोंदेखि निजी क्षेत्रले सिमेन्ट निर्यातको वातावरण तयार गर्न आग्रह गर्दै आएकोमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेटले त्यसलाई सम्बोधन गरेको थियो ।

यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।