
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसँगको एकताको च्याप्टर नखुलेको बताउनुभएको छ ।
बुटवलमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले एमालेसँग एकताको च्याप्टर नखुलेको अवस्थामा बन्द भन्ने प्रश्न नै नउठ्ने बताउनुभयो ।
अध्यक्ष नेपालले नेकपा (माओवादी केन्द्र)सँगको एकता गर्ने र प्रधानमन्त्री बनाउने भन्ने विषयमा पनि सत्यता नभएको स्पष्ट गर्नुभयो ।
अहिलेको मुख्य शत्रु नोकरशाही पुँजीवाद भएको तर्क गर्दै उहाँले त्यसविरूद्ध एक हुनुपर्नेमा जोड दिनुभयो ।
कम्युनिष्ट पार्टीले नै राष्ट्रको निकास दिनसक्छ भनेर कम्युनिष्ट पार्टीहरूमा एकताको सम्भावनाबारे छलफल गरिरहेको भए पनि आफूले पद र प्रतिष्ठाको लागिमात्र पार्टी एकता नगर्ने उहाँको भनाइ छ ।
पछिल्लो समय तत्कालीन नेकपालाई ब्यूताउँनेबारे छलफल भइरहेको भन्दै उहाँले त्यसबाट कांग्रेस तर्सनुनपर्ने बताउनुभयो । आफूहरूको भूमिका र सहयोगले नै कांग्रेसले सरकार बनाउन सकेको स्मरण गर्दै उहाँले यसलाई पनि उसले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
स्थानीय तहको निर्वाचनमा तल्लो तहसम्म गठबन्धन हुन नसक्दा आफूहरूलाई धेरै लाभ नभए पनि पाँच दलीय गठबन्धन मिलेर जानुपर्छ भन्नेमा आफूहरू स्पष्ट रहेको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्