
एजेन्सी । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको शव टोकियोस्थित उहाँको घरमा लगिएको छ ।
शव बोकेर टोकियोमा आबेको निवासमा पुग्दा सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी)का सदस्यहरू कालो पहिरन लगाएर श्रद्धाञ्जली दिन पुगेका थिए ।
शुक्रबार विहान दक्षिणी शहर नारामा आयोजित एक कार्यक्रममा आबेको गोली हानी हत्या गरिएको थियो । आबेको अन्तिम संस्कार मंगलबार गर्ने जापानी सरकारी टेलिभिजनले जनाएको छ ।
हत्याको अनुसन्धान गरिरहेको प्रहरीले संदिग्ध व्यक्तिले एउटा ‘विशेष संगठन’प्रति आक्रोश व्यक्त गरेको जनाएको छ ।
हत्यामा संलग्न ४१ वर्षीय आक्रमणकारी तेत्सुया यामागामीलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार ती व्यक्तिले ‘विशेष संगठन’ विरुद्ध आक्रोश पोखेको बताइएको छ ।
यसका साथै उनको घरबाट थुप्रै बन्दुक र विस्फोटक पदार्थ बरामद गरिएको छ । ६७ वर्षीय आबे जापानको सबैभन्दा लामो समय सेवा गर्ने प्रधानमन्त्री हुनुहुन्थ्यो ।
बन्दुक हिंसा ज्यादै दुर्लभ र राजनीतिक हिंसा शून्य रहेको जापानमा यस घटनाले विश्वजगत समेत हैरान भएको छ ।
प्रतिक्रिया दिनुहोस्