१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बढ्न थाले कोरोना संक्रमित, लापरबाही नगर्न चिकित्सकको सुझाव


819
Shares

सन्दीपकुमार श्रेष्ठ
काठमाडौं । चिकित्सकहरूले कोरोनाको जोखिम पूर्णतः हटिनसकेको बताइरहँदा जनस्तरमा लापरबाही बढ्दो छ ।

सार्वजनिक स्थान, यातायात, बाटोघाटोमा हिड्नेले मास्कसमेत नलगाउँदा संक्रमणले धनजनको अथाह क्षति भएको विगतप्रति कोही सचेत नेदेखिएको भान हुन्छ ।

चिकित्सकहरूका अनुसार खोपको पूर्ण मात्रा लगाए पनि त्यसले एन्टीबडी निर्माण नगरेसम्म कोभिडको जोखिम भइरहन्छ । त्यसैले खोप लगाएको विश्वासमा मास्क नलगाउनु, सामाजिक दूरी कामय नगर्नु अनुचित हो ।

आफ्नो होसियारी र लापरबाहीले अरुको स्वास्थ्य प्रभावित पार्ने भएकाले नागरिक तहमा संवेदनशीलता जरुरी रहेको संक्रामक रोज विशेषज्ञ डा. शेरबहादुर पुन बताउनुहुन्छ । संक्रमणदर घटे पनि मास्क र सामाजिक दूरीको नियम पालना गर्न जरुरी रहेको उहाँको सुझाव छ ।

कोरोनाको शंका लागेर जाँच गर्न आउने बढे पनि अस्पतालमा भर्ना हुने संक्रमितको संख्या भने शून्य छ । यद्यपि बजारमा बढ्दो भीडभाडप्रति चिकित्सकहरू पनि चिन्तित छन् । हुँदा–हुँदा अस्पताल आएका रोगीसमेत मास्क लगाउन छोडेका छन् ।

कोरोना मात्र होइन, काठमाडौं उपत्यकाको प्रदूषण, धुलो धुवाँबाट बच्न समेत मास्क अनिवार्य हुँदै गएको चिकित्सक बताउँछन् । त्यसो त एक दुईजनामा कोरोनाको नयाँ भेरियन्ट देखिँदैमा डराइहाल्नु पर्ने स्थिति भने नभएको उनीहरूको भनाइ छ ।

कोरोनाको सवालमा आफ्नो डाक्टर आफैं हुने भएकाले होसियारीको जिम्मेवारी पनि आफ्नै रहेको चिकित्सक पुन बताउनुहुन्छ ।

भेरियन्ट शक्तिशाली नभए पनि कोरोनाको प्रकोप घटेको छैन । छिमेकी मुलुक भारतका नागरिक प्रत्यक्ष प्रभावित भइरहेका छन् । यस स्थितिमा कम्तिमा मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने र सामाजिक दूरीको मर्यादाप्रति नागरिक सचेतता आवश्यक छ ।