
काठमाडौं । कार्यकालको अन्तिम समयमा पुग्दासमेत प्रदेश १ को नामाकरण गर्न नसकेका प्रदेश सभामा सदस्य र राजनीतिक दलहरूले पछिल्ला दिनमा भने छलफललाई तीव्र बनाएका छन् ।
राजनीतिक दल, नेता र विभिन्न संघसंस्थाको स्वार्थ बाझिँदा प्रदेश १ ले नाम पाएको छैन । तत्काल नामकरण हुने सम्भावना पनि न्यून देखिएको छ । अहिले भइरहेको छलफलमा दलहरूले प्रदेशको नाम प्रस्ताव गर्न थालेका छन् ।
यसअघिका छलफलमा लागि भएका बैठकमा दलहरूले नाम के राख्ने भनेर प्रस्ताव गरेका थिएनन् । काठमाडौंमा भएको शीर्ष नेताहरूको छलफलपछि एमालेले प्रदेशको नाम कोसी राख्न प्रस्ताव गरेको छ ।
विराटनगरमा भएको सर्वदलीय बैठकमा एमालेले प्रदेशको नाम कोसी राखेर जानुपर्ने धारणा राखेको थियो । नेकपा माओवादी केन्द्रले किराँत नाम प्रस्ताव गरेको छ ।
प्रदेश सरकारको नेतृत्व गरिरहको एकीकृत समाजवादीले पनि किराँत राखेर जान तयार रहेको बताएको छ । तर, बैठकमा सहभागी नेपाली कांग्रेसले भने अझै नाम के राख्ने भनेर औपचारिक धारणा राखिसकेको छैन ।
जनता समाजवादी पार्टीले ‘किराँत लिम्बुवान शेर्पालुङ मधेश प्रदेश’ नाम प्रस्ताव गरेको छ । राप्रपाले सगरमाथा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले लिम्बुवान प्रदेश हुनुपर्ने बताएको छ ।
प्रदेश सभामा सबैभन्दा ठूलो दल एमाले छ । उसँग अहिले ३८ जना प्रदेश सभा सदस्य छन् । कांग्रेससँग २१ र माओवादीसँग १५ जना प्रदेश सभा सदस्य छन् ।
प्रदेश १ सभामा एकीकृत समाजवादीका १०, जसपाका ३, राप्रपाका १ र संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ सदस्य रहेका छन् ।
प्रदेशको नामकरणका विषयमा एउटै समुदायभित्र पनि फरक-फरक धारणा आउन थालेपछि यो विषय झन् जटिल बन्दै गएको छ । २०७४ साल फागुन ३ गते प्रदेश सरकार गठन भएदेखि नै नामकरणका विषयमा वहस हुँदै आएको छ ।
प्रदेशको नामकरण गर्न दुई तिहाइ बहुमत आवश्यक पर्छ । दुई तिहाइको नेकपाको सरकार हुँदा पनि तत्कालीन मुख्यमन्त्री शेरधन राईले नामकरणका विषयमा छलफल समेत अघि बढाउन सक्नुभएको थिएन ।
प्रतिक्रिया दिनुहोस्