
काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन, २०७९ मा भाग लिने सुर्खेतका २६ प्रतिशत उम्मेदवारले मात्र चुनावी खर्च बुझाएका छन् ।
स्थानीय तहको चुनावमा भाग लिएका यहाँका नौ स्थानीय तहका कूल दुई हजार ८४ जना उम्मेदवारमध्ये २६ प्रतिशतले मात्र चुनावी खर्च बुझाएका हुन् ।
दुई हजार ८४ मध्ये चुनावी खर्च बुझाउने ५५२ जना उम्मेदवार रहेको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी निर्मला रेग्मीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले पटक–पटक निर्वाचन खर्च बुझाउन उम्मेदवारहरूलाई ताकेता गरेका थियौँ तर पनि निर्धारित मितिसम्म मात्र २६ प्रतिशत उम्मेदवारहरूले चुनावी खर्च बुझाएका छन् ।’
स्थानीय तह निर्वाचन ऐन, २०७३ र नियमावली २०७३ को ढाँचामा उम्मेदवारले चुनावको परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आफ्नो चुनावी खर्च जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा बुझाउनुपर्ने कानुनी प्रावधान रहेको छ ।
सूचना अधिकारी रेग्मीका अनुसार सुर्खेतमा हालसम्म गाउँपालिकामा क्रमशः चौकुनेबाट २०, चिङ्गाडबाट ३३, सिम्ताबाट ३६, बराहतालबाट ९९ जना उम्मेदवारले चुनाव खर्च बुझाएका छन् ।
त्यस्तै नगरपालिकाहरूमा क्रमशः गुर्भाकोटबाट १२, भेरीगङ्गाबाट ५७, पञ्चपुरीबाट ६६, वीरेन्द्रनगरबाट ११२ र लेकबेँसीबाट ११६ उम्मेदवारले निर्वाचन खर्च प्रदेश निर्वाचन कार्यालयमा बुझाएका छन् ।
जिल्ला समन्वय समिति सुर्खेतको एक जना उम्मेदवारले चुनाव खर्च बुझाएको उहाँले बताउनुभयो ।
कर्णाली प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले चुनाव खर्च बुझाउने ५५२ र नबुझाउने एक हजार ५३२ उम्मेदवारको विवरणसहित आयोगमा सिफारिस गरेर पठाइने बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्