१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेस पदाधिकारी बैठक आज बस्दै


52
Shares

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज आइतबार बस्ने भएको छ ।

भोलि सोमबार बस्ने केन्द्रीय समितिको बैठकको तयारीका लागि छलफल गर्न सभापति शेरबहादुर देउवाले आइतबार दिउँसो १ बजेका लागि पदाधिकारी बैठक बोलाउनुभएको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका प्रस्ताव तय गर्ने र ती विषयमा पदाधिकारी तहमा सहमति जुटाउने प्रयास हुने बताइएको छ ।

कांग्रेसले गत बैशाख ३० गते सम्पन्न स्थानीय तह चुनावको समीक्षा गर्न सोमबार केन्द्रीय कार्य समितिको बैठक बोलाएको हो ।

बैठकमा भ्रातृ तथा शुभेच्छुक संस्थाको विधान पारित गर्ने तथा नयाँ संस्थालाई मान्यता दिने एजेण्डा पनि राखिएको छ ।

पार्टीको संस्थापन इतर केन्द्रीय सदस्य डा. शेखर कोइराला समूहले केन्द्रीय समितिमा उठाउने एजेण्डाका सम्बन्धमा गत हप्ता लगातार २ दिने आफू पक्षिय भेला गरेको थियो । भेलाले सभापति देउवा पार्टी र सरकार सञ्चालनमा असफल भएको निष्कर्ष निकालेको थियो ।

कोइराला समूह भ्रातृसंस्थाको नेतृत्व चयनमा सभापति देउवाले एकलौटी गरेको र महाधिवेशन सम्पन्न भएको ६ महिना बितिसक्दा पनि विधानअनुसार काम नगरेको भन्दै असन्तुष्ट छ । यसैगरी, कोइराला समूहले सरकारका काम कारबाहीप्रति पनि तिव्र असन्तुष्टि जनाउँदै आएको छ ।

कोइराला पक्षले उठाएका एजेण्डामाथि आवश्यक सहमति जुटाएर केन्द्रीय समितिमा उठ्न सक्ने प्रश्नको न्यूनिकरण गर्न देउवाले केन्द्रीय समिति बैठक बस्नु अघिल्लो दिन पदाधिकारी बैठक बोलाउनुभएको हो ।