
काठमाडौं । आज (सोमबार) विश्व जनसङ्ख्या दिवस नेपालमा पनि मनाइँदैछ ।
संयुक्त राष्ट्र सङ्घको आह्वान अनुसार प्रत्येक वर्ष जुलाई ११ मा विश्व जनसङ्ख्या दिवस मनाउने गरिएको हाे । सन् १९८९ देखि प्रत्येक वर्षको जुलाई ११ तारिखमा विश्वभरिका जनसङ्ख्याका मुद्दालाई सम्बोधन गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको छ ।
यसपालिको नारा ८ अर्ब मानवको विश्वः सबैका लागि समुत्थापित भविष्यतर्फ–अवसरको सदुपयोग तथा सबैका लागि अधिकार र चयनमा सुनिश्चितता भन्ने नारा तय गरिएको छ । नेपालको परिवर्तित जनसाङ्ख्यिकी बनावटको सहि व्यवस्थापन गर्ने विषय चुनौतीको रुपमा रहेको छ । गरीबी, अशिक्षा, हिंसा विभेद जस्ता कारण सबैलाई समान पहुँचमा पुर्याउन चुनौती छ । अहिले जनसङ्ख्या वृद्धिदर घट्दै गए पनि जनसङ्ख्या स्थिर हुन अझै कम्तिमा दुई तीन दशक लाग्ने अनुमान छ ।
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० रहेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार महिलाको सङ्ख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ रहेको छ भने पुरुषको सङ्ख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ रहेको छ । नेपालका ७७ जिल्लामध्ये उच्च हिमाल र मध्य पहाडका ३२ जिल्लामा जनसङ्ख्याको वार्षिक वृद्धिदर ऋणात्मक छ ।
प्रतिक्रिया दिनुहोस्