
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आफ्नो काम हेर्न ‘हनिमुन पिरियड’ सम्म पर्खिन आग्रह गर्नुभएको छ ।
महानगरको बजेट पारित भएपछि सोमबार पत्रकार सम्मेलन गर्दै उहाँले आफ्नो काम हेर्न कम्तिमा एकसय दिन कुर्न आग्रह गर्नुभयो ।
आफू मेयर भएको चालीस दिनमात्र भएको बताउँदै उहाँले महानगरसँग ठूलो बजेट नहुँदा अहिलेसम्म सम्झनायोग्य काम गर्न नसकेको बताउनुभयो । केहि दिनमै देखिनेगरी काम हुने उहाँको दाबी छ ।
गत वर्षभन्दा बढी बजेट प्रस्तुत गरेको महानगरले यस वर्ष करको दर घटाएर दाएर बढाएको उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘सम्पती कर, घर भाडा, व्यवसाय र पार्किङ लगायतका क्षेत्रको घर घटाएको छु ।’
महानगरको आगामी वर्षको बजेट ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँ रहेको बताउँदै मेयर आचार्यले ल्याण्डफिल साइटबारे चाँडै टुंगोमा पुग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रविधिको प्रयोग गरेर आधुनिक ल्याण्डफिल साइट बनाइने भन्दै उहाँले भन्नुभयो, ‘शहरबाट उठाएर फोहोर डम्पिङ गर्ने वा फोहोर चुहाउँदै लैजाने र प्रदुषित बनाउने खालको हुँदैन ।’
धरान र काठमाडौंका मेयर झैँ चर्चा पाउनेगरी काम गर्न किन सक्नुभएन भन्ने पत्रकारको प्रश्नमा उहाँले भन्नुभयो, ‘युट्यूबर अघिपछि लगाएर चर्चाका लागि मात्रै काम गर्नुपर्छ भन्ने मलाई लाग्दैन ।’
आफूले पाँच वर्षसम्म प्रक्रिया र विधि पुर्याएर काम गर्ने उहाँको भनाइ छ ।
मेयर आचार्यले पूर्व मेयर मानबहादुर जिसीले आफ्ना ज्वाइँलाई विधि नपुर्याइ पर्यटन बसपार्क र गल्फको जग्गा ठेक्कामा दिएको बताउनुभयो । यस विषयमा थप तथ्य बुझ्नका लागि छानविन समिति बनाएको पनि उहाँको जानकारी गराउनुभयो ।
मेयर आचार्यले पोखराको पृथ्वीचोकमा बसपार्कका लागि छुट्याइएको सबै क्षेत्रफलमा बसपार्क बन्ने बताउनुभयो । भनिएको क्षेत्रलाई अधिग्रहण गरेर भए पनि बसपार्क बनाइने उहाँको दाबी छ । अबदेखि पृथ्वीचोक बसपार्कबाट पोखराका सबै वडामा गाडी छुट्ने व्यवस्था मिलाइने उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्