
काठमाडौं । राष्ट्रिय सभा सदस्य बामदेव गौतमले सरकार र राजनीतिक दलको गैर जिम्मेवारीका कारण संघीय संसदका उपसभामुख र उपाध्यक्षको रिक्त पद पूर्ति हुन नसकेको दाबी गर्नुभएको छ ।
राष्ट्रिय सभाको आज मंगलबारको बैठकमा गौतमले प्रतिनिधि सभाको उपसभामुख र राष्ट्रिय सभाको रिक्त उपाध्यक्ष पदमा महिला चयन गर्न नसक्नु सरकार र राजनीतिक दलका लागि लाजमर्दो विषय भएको बताउनुभएको हो ।
उहाँले पुरुष सदस्य पद रिक्त भएको खण्डमा कुर्नै नपर्ने अवस्था हुने दाबी गर्दै महिला रिक्त पदकै कारण प्रतिनिधि सभामा ४ वर्ष र राष्ट्रिय सभामा करिब ४ महिना यता पदपूर्ति हुन नसक्नु दुःखको विषय भएको बताउनुभयो ।
सदस्य गौतमले संविधानको धारा ९२ मा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष भन्ने व्यवस्था गरेको भन्दै उपाध्यक्ष बिनाको अध्यक्षको परिकल्पना गर्न नसकिने उल्लेख गर्नुभयो । उहाँले दुईमध्ये कुनै एक पदमा महिला अनिवार्य हुने कुरा संविधानले नै उल्लेख गरेको भन्दै पुरुष नभएपनि हुने तर महिला अनिवार्य हुनुपर्ने बताउनुभयो ।
गौतमले करिब ४ महिना यता राष्ट्रिय सभाका ४ समितिमध्ये ३ वटामा सभापति नरहेको उल्लेख गर्दै सरकार, राजनीतिक दल, राष्ट्रिय सभाका अध्यक्ष, कार्यव्यवस्था समितिको ध्यानाकर्षण गराउनुभयो । उहाँले सरकार र दलहरुको लापरबाहीप्रति महिला सदस्यहरुले आन्दोलन गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्