
काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न बनेको संसदीय विशेष समितिले बुधबार अर्थ मन्त्रालयसँग जनार्दन शर्मासँग सम्बन्धित कागजात र विवरण माग्ने निर्णय गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको संसदीय विशेष छानविन समितिको पहिलो बैठकले समितिको कार्यविधि पास गर्दै पूर्व अर्थमन्त्री शर्मासँग विषय कागज तथा विवरणको लागि पत्राचार गर्ने निर्णय गरेको समिति सचिव सुरेन्द्र अर्यालले बताउनुभयो ।
सचिव अर्यालले आजको बैठकले छानविन समितिको सभापति सर्वसम्मतिबाट छान्ने निर्णय भएको पनि बताउनुभयो । उहाँले सर्वसहमतिबाट सभापति छान्न सदस्यहरूले आन्तरिक छलफल गर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो ।
अर्यालले बैठकको सभापतित्व ज्येष्ठ सदस्यका हैसियतमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले गर्नुभएको बताउनुभयो । सचिव अर्यालले अर्को बैठक बुधवार दिउँसोे बस्ने बताउनुभयो ।
पूर्व अर्थमन्त्री शर्माले अर्थमन्त्री हुँदा २०७९÷०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्यरातमा अर्थ मन्त्रालय छिराएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीउ संसदीय विशेष छानविन समिति बनेको हो ।
पूर्व अर्थमन्त्री शर्माले संसदीय छानविन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।
समितिमा एमालेबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल र विमला विक, कांग्रेसबाट पुष्पा भुसाल गौतम र सीताराम महतो, नेकपा माओवादी केन्द्रबाट देवप्रसाद गुरूङ र शक्तिबहादुर बस्नेत रहनुभएको छ ।
यस्तै नेकपा एकीकृत समाजवादीकी सरलाकुमारी यादव, जसपाका सुरेन्द्र यादव र लोसपाबाट लक्ष्मणलाल कर्ण छानबिन समितिमा हुनुहुन्छ । छानविन समितिले पहिलो बैठक बसेको १० दिनभित्र प्रतिवेदन तयार पारिसक्नु पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्