१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


श्रीलंकाका राष्ट्रपति राजपाक्षे देश छाडेर भागे

सैनिक विमानमा माल्दिभ्स पुगेको खुलासा

5.174k
Shares

काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षे देश छाडेर माल्दिभ्स पुग्नुभएकाे छ ।

सोमबार राति देश छाडेर भाग्न खोज्दा विमानस्थलबाट अपमानजनक ढंगले फर्काइएका राजपाक्षे मंगलबार भने सैनिक विमानबाट माल्दिभ्सको राजधानी माले पुगेको बीबीसीले जनाएको छ । आफूले राष्ट्रपति पदबाट राजीनामा दिने घोषणा गरेको दिन आउनुभन्दा एक दिन अघि नै राजपाक्षेले देश छाड्नुभएकाे हाे ।

प्रदर्शनकारीहरुले आफ्नो सरकारी निवास कब्जामा लिएपछि अज्ञाथ स्थलमा आश्रय लिईरहेका राजपाक्षेले आज बुधबार राजिनामा दिने घोषणा समेत गर्नुभएकाे थियाे । राष्ट्रपति राजपाक्षेका भाइ एवं अर्थमन्त्री बसिल राजपाक्षे पनि देश छाडेर अमेरिका प्रस्थान गरेको खबर सार्वजनिक भएकाे छ । दशकौंदेखि शासन गरिरहेको राजपाक्षे परिवारलाई श्रीलंकामा वर्तमान आर्थिक संकटको मूख्य दोषी मानिएको छ ।

राजपाक्षे परिवार देश छाडेर भागेपछि अब श्रीलंकामा अर्को सरकार गठनको लागि झनै असहज भएको अनुमान गरिएको छ । राष्ट्रपतिको अनुपस्थितिमा प्रधानमन्त्रीलाई श्रीलंकाको संविधानले कार्यबाहक मानेको छ । तर जनतामाझ अलोकप्रिय प्रधानमन्त्री रनिल बिक्रमासिंघेले पनि राजीनामा दिने घोषणा गरिसक्नुभएको छ ।

त्यसपछि तेस्रो वरियतामा रहेका सभामुखले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी लिनुपर्ने हुन्छ । तर राजपाक्षेकै सहयोगी मानिएका सभामुखलाई पनि श्रीलंकाका जनताले स्विकार्ने अवस्था भने देखिएकाे छैन् । कार्यबाहक राष्ट्रपतिले ३० दिनभित्र श्रीलंकामा सांसदहरुमध्येबाट राष्ट्रपतिको लागि नयाँ चुनाव गराउनुपर्ने बाध्यता रहेकाे छ ।