
काठमाडौं । निर्वाचन आयोगले आज बुधबारदेखि अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको छ ।
पाइलट अपरेसनका रुपमा बुधबारदेखि काठमाडौं, ललितपुर र भक्तपुरबाट अनलाइनमार्फत् नामावली दर्ता गर्न सकिने व्यवस्था गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार एक विज्ञप्ती जारी गर्दै जानकारी दिनुभएको हो ।
पौडेलका अनुसार पहिलो चरणमा उपत्यकाका तीन वटा जिल्लामा मात्र अनलाइन सुविधा रहेको छ ।
फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नागरिकले आयोगको वेवसाइटमा गएर व्यक्तिगत विवरण भर्न सक्नेछन् । त्यसपछि अनलाइन फारममा उल्लेख भएको संकेत नम्बरसहित प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औंठा छाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा जानुपर्ने आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्