८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


पूर्वराजा ज्ञानेन्द्र, राष्ट्रपति, प्रम ओली र प्रचण्डको लकडाउन मनोवाद


0
Shares

-संजिव कार्की 

पूर्वराजा ज्ञानेन्द्र शाह – राजवंश अन्त्यको घोषणा हुँदा मैले देखाएको सुझबुझपूर्ण निर्णय नै मेरा लागि आज पनि शक्ति आर्जनको अस्त्र बनेको छ । बिना प्रतिरोध नारायनहिटी छोड्ने प्रसंग र घटना विश्वले अनुकरणीय मानेको कारण नै आज सडक निर्बाध हिड्ने थलो भएको छ मेरा लागि । गणतन्त्रका मसिहा भनिनेहरू असुरक्षाको भयले सुरक्षा फौजको ताँती लगाएर हिड्छन् । तर म खेदिएको राजा अलिकति पनि डर र भय राख्दिन जनताको हुल भीडमा सामान्य तवरले हिड्न सक्छु । यो संकटमा मैले गरेको दुई करोड कोरोना कोषमा जम्मा गर्ने कार्यको सर्वत्र प्रशंसा सुने जुन खुशीको कुरा हो ।

आज पनि ‘राजा आऊ देश बचाऊ’ भन्नेको कमि छैन दिन दुगना रात चौगुना बढेको देखेर भित्र भित्र दंग छु । दुर्भाग्य त्यो कुलंघार तमासा गरेर फेसबुक लाइभ गर्छ । तरुनीसँगको रोमान्स देखाउँछ । मान्छेहरु राजा, भावी राजा यस्ता पनि राजा भनेर पुनः कुरा काट्छन, टिप्पणी गर्छन तब मन भरंग भएर आउँछ । यो मात्रै देखाउन हुने भएको भए देशले राजतन्त्रको बहाली गर्न समय लाग्दैनथ्यो । जतिसुकै तान्त्रिक पद्दति र बिधि लगाएर उपचार गर्दा पनि त्यो सुध्रेन । हामी भगवानमा विश्वास गर्नेहरु आशावादी छौ । यो लफङ्गो एकदिन जरुर सुध्रन्छ । यसको भाग्यमा पसेको राहु अवश्य हटने  छ । 

सरकार र पार्टीहरुको अकर्मण्यता, भ्रस्टाचार , व्याभिचार अनि कुशासनले जनतामा व्यापक निराशा र चरम वितृष्णा छ । जनता राजा नै भए हुन्थ्यो भन्ने निष्कर्षमा पुगेका त छैनन् तर राजा प्रतिको विश्वास र आशा बिस्तारै पलाउँदै गएको छ । कुबुद्धिले घेरिएको कुपुत्रको कारण जनता अझै अलमलमा छन् । तथापि, बुहारी हिमानीको भद्रता अनि नातिप्रतिको जनताको आशावादी नजरले मन पुलकित रहन्छ । जनतालाई  नेताहरुले देशको माया गर्ने हद भन्दा माथि राजाले गर्छन भन्ने तथ्य पस्कन सक्नु पनि मेरो सफलता हो । प्रकारान्तरले यो भावना हाम्रो अनुकुल बन्नेछ ।

केपी ओलीको शैली र नेकपा भित्रको उत्कर्षमा पुग्ने बिबादले राजाप्रतिको जनताको मोह नबढे पनि घटेको छैन ।  बरु धेर थोर बढेको छ । आशा पनि लाग्छ अरु केही वर्ष राजनीति यस्तै धमिलो, अपारदर्शी र घृणित हुने हो भने जनताले ठूलो स्वर र ठूलो शक्तिले राजा बोलाउन पनि त सक्छन  निराशाको च्यादर च्यातेर आसाको जुन झुल्कन कति बेर ? रास्ट्रपतिको बिबादस्पद भूमिकाले राजाको तटस्थ अभिभावकीय आवश्यकता र उदेश्य खोज्न मद्दत गरेकै छ । मैंले मन्दिर जाँदा नेताहरुले गालीगलौज गरेको र धम्की दिएको सुन्दा जनता नेताप्रति आक्रोशित हुन्छन् । नकारात्मक नै सही राजाप्रति सहानुभूतिशिल बनाउन नेताहरुको बक्तव्य र विरोधले काम गरेको छ ।

राजतन्त्र नै सबै समस्याको जड भएकोले राजा फालेपछि सबै समस्या सामाधान हुन्छ भन्ने भ्रम अब टुटेको छ । जनताले बुझ्न थालेका छन् राजतन्त्र हुँदा पनि फरक पर्दैन । गाउँ गाउँमा सिंहदरबार भनेर करको भार जनताको टाउकोमा थोपरेको असन्तोष र प्रतिरोध पक्कै प्रकट हुनेछ । त्यतिबेला जनताले प्रखर रुपमा राजाको माग गर्नेछन । सपना बिपना हुन पनि सक्छ हिजो रातीको रोमान्चक सपनाले आज पनि उद्देलित र भाबुक बनाएको छ । प्रम ओली सरासर आए र भने  ‘महाराज मैंले सकिन अब मिलेर चलाउनु पर्यो सरकार सेरोमोनियल भै बक्सनु पर्यो । जनताले राजासँग मिलेर देश चलाउन भनेका छन् । राजाको साथ पाएपछि जनताले समर्थन गर्छन । पार्टी भित्रको मेरो संकट पनि हटने छ ।  देशले पनि राजासहितको गणतान्त्रिक अभ्यासको शुरुवात गर्नेछ । कांग्रेस पनि राजासँग अनुदार बन्न सक्दैन । सरकार मिलौ देश सम्हालौ ।’ सपनाहरु मिथ्या होइनन शुभ र अशुभका संकेत पनि हुन् ।

राष्ट्रपति बिद्या भण्डारी – सरकारको असफलता र अलोकप्रियताको कारण मलाई पनि चैन छैन । आलोचकहरु भन्छन राष्ट्रपति बिबादित र गुटबन्दी गर्ने  काममा लागिन् । राष्ट्रपति फेर्नुपर्छ । मेरो पनि विवशता र अप्ठ्यारा छन् । म राष्ट्रपति हुनुको श्रेय ओलीजी कै हो तसर्थ उनको वचन काटने सामर्थ्य मसँग छैन नि । दोश्रो कार्यकाल पनि ओलीकै ढीपी र करबलको कारण सम्भव भएको हो । नत्र प्रधानमन्त्री भै सकेका झलनाथसम्मले राष्ट्रपति ताकेका थिए । आफू निर्बल भएको कारण बलियो बन्न अध्यादेश चाहिएको हो अध्यादेश साइन गिरिदिनुस भने मैंले पनि जस अपजस प्रधानमन्त्री कै हो भनेर हस्ताक्षर गरेर पठाइ दिए । आफ्नै पार्टीका नेतासम्मले गाली गरे । अपमान गरे । के म ओलीसँग पंगा लिनसक्छु र ? मेरो पद प्रधानमन्त्रीसँग लड्ने पनि होइन ।

त्यसैले जुन रफ्तारमा अध्यादेश आएको थियो त्यही रफ्तारमा फिर्ता पनि गरे  िआफ्नो पार्टी मिलाउन सक्दैनन् अनि दोष चै मेरो हो भन्छन ‘मोरा कमरेडहरु ।’ ओलीजीले मलाई राष्ट्रपतिमा दोहोर्याएको मेरो सहजताको लागि मात्रै होइन आफ्नो अनुकुलताको लागि पनि हो भन्ने नबिर्से हुन्थ्यो । देश आक्रान्त भएको बेला हाम्रो पार्टी र नेताहरुलाई किन यस्तो कुबुद्धिले घेर्या होला ? फेरि पनि चुनाब आउँछ र चुनाब लड्नुपर्छ, जित्नुपर्छ भन्ने हेक्का नभएको पक्कै होइन होला । कम्तिमा पार्टी मिलाएर शासन गरे ओलीको लागि समय गलत थिएन । एक्लै खाऊँ, एक्लै हिडौं भन्ने ओली र उनका वरपर बस्ने मतियारको स्वार्थले देशले बलियो सरकारको अनुभूति गर्न सकेन । दुई तिहाइको समर्थन भएको पार्टीमा प्रधानमन्त्री बहुमत पुष्टी गर्न नाजायज हर्कत गर्न, पार्टी फुट्न र फुटाउन लागि पर्नुपर्ने स्थिति कति लाजमर्दो हो । हरे यी रैतीको दशा ! सामान्य शान्ति र अमन चैन समेत पाउन सकेनन् ।

प्रधानमन्त्री केपी ओली – अध्यादेश मार्फत कत्रो सपना थियो । मधेशवादी दलका संसदले पनि धोका दिए । आफ्ना भनाउँदाहरु पनि कुशल किडन्यापर बन्न सकेनन् । पुलिसको पूर्व हाकिमको सक्रियतामा पनि दिएको काम राम्रोसँग फत्ते गर्न नसक्ने त्यो महेश मुंग्रे मात्रै रहेछ । कुटनीति र रणनीति नभएको गबुल्डो । यस्तो नकामको भण्डाफोर भएपछि अब सर्वेन्द्रलाई अख्तियारमा जागिर दिने स्थिति पनि रहेन । प्रचण्ड माधवको फुरफुर, चुरीफुरी अन्त्य गर्न पनि अध्यादेश जरुरी थियो । तर अलि ढंग पुर्याउन सकेनन केटाहरुले । उल्टो फन्दामा परियो । पंख कटकट गरेर दांत किट्दै म देखाइदिन्छु यी सबको गठजोडलाई । त्यो प्रचन्ड एक्लै चुनाबमा गएको भए देख्थ्यो हैसियत । मिलेर चुनाव लडियो, पार्टी एकीकरण पनि गरियो । हुँदा हुँदा करकर गरेर कार्यकारी पनि भनिदिए तर त्यसलाई यो सब नपचेको । खेल खेल्दै जाउ न । मलाई पनि थाहा छ तिमी जस्तालाई फस्ने ,फसाउने पासो कहाँ कहाँ छ ? अख्तियार र अदालतमा आज पनि तिम्रा घाँटीमा कसिने फाइलका डोरीहरू छन । होस् गर । अब संघर्ष गर्ने नै हो भने कि तिमीहरु छैनौ कि म ? बालुवाटार जग्गा प्रकरणमा मुद्दा हाल्न नदिएर गुण लगाएको माधवले देखायौ हैन ? ठिक छ म पनि सकेको गर्छु जे पर्ला देखाजायागा ?

कोरोना कहरमा देश रोएको बेला विश्व हतप्रभ भएको बेला मलाई पदच्युत गर्ने र मेरो हात बाध्ने निर्णय मेरालागि मान्य हुनेछैन । बामदेवरुपी कार्ड पनि पिलन्धरे र हुतिहारा लाग्न थाल्यो । कहीले यता कहिले उता चाहर्ने र आफू अनुकुल कुरा गर्ने बामदेवको लैबरी तालले पनि दुख दियो । झलनाथ, माधव त मेरा प्रतिस्पर्धी नै भए यिनले मलाई बसी खान दिदैनन । यो विश्नेको भूमिका पनि आजभोलि सन्देहास्पद छ । त्यत्रो बालुवाटार जग्गा प्रकरणमा काँधमा बोके यसले पनि द्वैद भूमिका देखाउन लागेको भान भएको छ । इश्वरे पनि सरकार चलाएर ढुक्कसँग बस्न दिने मनुवा परेन । तिकडम जाल र तरिका नजान्नेले किन त्यो स्वास्थ्य सामग्री किन्न हतार गर्नु ? हुन त विश्वास पनि कसको गर्नु र ? बाठो होला भनेको गोकुले पनि नांगै हिड्यो । मुख देखाउन नसक्ने नै बनाउने भए पाजीहरुले । ढाकछोप पनि कतिको गर्नु ? कति दिन गर्नु ? कहिलेकाँही त यी सबलाई लगेर जाकिदिनु जस्तो पनि लाग्छ । तर यो पनि समस्याको सामाधान होइन कालान्तर र प्रकारान्तरले मेरै घाटी चेप्न आउने वातावरण बन्छ । दोस्रोपटक प्रधानमन्त्री बन्नेबेला सम्म कत्रो नाक थियो तर आज नाक घोटिएर हेर्न नहुने भैसक्यो भन्छन ।

मैंले पनि यतिधेरै लोभ नगरेको भए हुन्थ्यो । अस्ति किड्नी फेर्नेबेला पारेर राजीनामा दिएको भए पनि हुन्थ्यो । राजीनामा दिनुपर्यो भनेर केटाहरुसँग सल्लाह मागेको पनि थिए । लोभीपापीहरुले हुन्न अहिले यत्रो लोकप्रियता छ । राजीनामाको ‘रा ’पनि अहिले आवश्यक र  उचित होइन भने । यी मुलाहरुसँग नसोधी मैंले राजीनामा दिनुपर्ने रहेछ । विचरी ! राधिकाले त छोडिदिनुस नभनेकी होइनन । धेरैपटक उनले भनेकी हुन् । राजीनामा दिनुस भन्दा राधिकालाई उल्टो झम्टे गाली गरे । महाबिपत्ति मेरोपनि विपत्ति बनाउन लागिपरे आफ्नै कमरेडहरु पनि । बिपक्षी र पत्रकारहरु पनि खुब उचाल्छन कमरेडहरलाई । हाम्रो फुट र मेरो पतन मिडियाको दैनिक प्रार्थना भएको छ । भारत पनि भित्र भित्र सन्तुष्ट छैन । चीनको संदेश त राजदूतले अस्ती दीइहालिन् । यी राजदूतले नै पहल नगरेको भए अस्तिको सचिवालयको बैठक पश्चात नै कठोर कदम चाल्ने थिए तर परिस्थिति बदलियो । आज पनि घर घर, दैलो दैलो कुदेर कमरेडहरु षडयन्त्रको खिचडी पकाउन व्यस्त छन जुन मेरा लागि सह्य छैन । राजनीति यस्तै हो । गिरिजाप्रसादले पनि आफ्नो बहुमत हुँदाहुँदै किन त्यस्तो गरे आज बुझ्दै छु । म पनि..।

पुष्पकमल दाहाल प्रचण्ड, कार्यकारी अध्यक्ष नेकपा – ओली ठिक छैनन । यिनले धोका दिन्छन भनेर नै मैंले सत्ता आधा आधा समय चलाउने समझदारीको पत्र सार्वजनिक गर्नु परेको हो । विश्वास नै हुथ्योभने जेन्टलम्यान अग्रिमेंट सार्वजनिक गर्ने विषय होइन । समय आएपछि पालन गर्ने कर्तव्य हो । ओलीले पहिले पनि सरकार चलाउँदा धोका दिएकोले मैंले लिखित गरेर नै ढुक्क बन्नु परेको हो । ओली प्रपंचमा परेर सत्ताको साँचो पाँच बर्षको लागि त्यागे पनि कार्यकारी अध्यक्षको अभ्यासमा रहन्छु र पार्टी हाँक्छु भनेर बसें । कार्यकारी अध्यक्ष पनि केवल मानका खातिर मान अर्थात सेरोमोनिय मात्रै रहेछ । एक बैठक आफ्नो तजबिजमा राख्न नमिल्ने अध्यक्ष भएर गर्नु के ? संधै झुक्याउने, छल्ने र तर्किने प्रधानमन्त्रीको स्वभावले नेकपा भित्र नै बस्न र अटाउन मुश्किल हुन लाग्यो । झन् पार्टी फुटाउन मिल्ने अध्यादेश जारी गरेर ओलीले पेल्नुसम्म पेल्न खोजे । मेरो पनि आफ्नो भाउ छ । हिजो चुनावपछि पाँच वर्षको लागि प्रधानमन्त्री लिखित दिन्छौं । एमालेसँग नमिल भन्ने प्रस्ताव लत्याएर पार्टी एकीकरण गरेको हुँ । शेरबहादुर आजपनि पार्टीको यो विवाद र द्वन्द देखेर भन्छन, सम्झाउँछ्न हामीले दिएको ग्यारेन्टी पत्याउनु भएन?  हठी र दम्भी भएपनि बचनको पक्का त शेरबहादुर र कांग्रेसका नेताहरु नै रहेछन । गिरिजाले पनि अति विश्वास गरेर नै मलाई हैसियत दिएका हुन् । तर आफ्नै पार्टीको नेताबाट आज यो हदको धोका ? हैन यो ओलीले आफूलाई के सम्झेको छ ? कोहो यो ? भारतीय दलाल भनेर हिजो मैंले गरेको मुल्यांकन सहि रहेछ । मेरो लचकतालाई यसले कमजोरी ठान्ने ?

मैंले पार्टी विलय गरेको होइन एकीकरण पो त ? यसले किन यति हेपेको छ ? यसको दम्भ तह लगाउन पनि माधव र झलनाथको सहयोग लिने रणनीति अपनाउँछु । बामदेबले धोका दिए । ओलीको टाटनाको घाँस खान गए र मात्रै नत्र यहि सचिवालय बैठकबाट ओलीको स्यांक स्यांक सकिन्थ्यो । हेरौं कतिदिन टिक्छ यसको फुरफुर ? यति बिघ्न बिरामी र रोगी भएर पनि कति जब्बर रहेछ यो मान्छे । मलाई फकाउने ,थर्काउने, लोभ्याउने यो मान्छेको चाल बुझ्न अब कठिन छैन । अब म फकिने छैन कुनैपनि हालतमा । जे भने र जे गरे पनि हामी पूर्व माओवादीलाई सुर्केनी कस्ने फन्दाहरु अख्तियार र अदालतमा भएको कारण नै ओलीको दम्भ यति बढेको हो । मलाई पनि ओलीको बिरुद्द जाइ लाग्न सजिलो कंहा छ र ? आफ्नो लागि सत्ता र शक्तिको संचय नहुँदासम्म  ओलीसंग भिड्न नसकेको दुःख मलाई मात्रै थाहा छ । दुःखको महाभारत नै छ । संकटको भिषण आँधीबेहरी छाती भित्र लुकाएर बसेको छु  िसीता धेरै बिरामी छन् , एक मात्र छोरा र ठूली छोरी गुमाएको घाउ अझै आलै छ  िम पनि मान्छे हु अब बिगतमा झैँ लडने टिक्ने तागत पनि काँहा छ र ? अनेकथरी रोगले गाँजेको छ । बाहिर देखाएर रुँदै हिड्न पो मिलेको छैन ? सजिलो र सुखमा म पनि त छैन नि ? आखिर म पनि मान्छे नै हुँ ।

नोटः  माथिको विचार हाम्रा स्तम्भकार सन्जिब कार्कीको मनोबाद परिकल्पना हो । स्तम्भकारको निजी परिकल्पना भएकाले यसमा सम्पादकीय टीमको कुनै आग्रह वा पूर्वाग्रह छैन ।–सम्पादक