
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारलाई विशुद्ध र अशुद्ध ठान्न नहुने टिप्पणी गर्नुभएको छ ।
अध्यक्ष ओलीले मानव अधिकार विशुद्ध र अशुद्ध अनि आंशिक र पूर्ण नहुने तर्क गर्दै त्यस्तो भ्रान्तिमा नपर्न राष्ट्रिय मानव अधिकार आयोगलाई सचेत समेत गराउनुभयो ।
बुधबार मानव अधिकार एलाइन्सले आयोजना गरेको आफ्नो २३ औं स्थापना दिवसमा मानव अधिकार आयोगका कुनै पनि सदस्यहरू उपस्थित नभएकोमा असन्तुष्टि व्यक्त गर्दै उहाँले आफूलाई सुनपानीले धोएको पवित्र मानव अधिकारवादी र हामीलाई मानव अधिकार उलंघनकर्ता ठान्ने भूल नगर्न पनि चुनौती दिनुभयो ।
गृह मन्त्रालयजस्तो नियन्त्रण कायम गर्नुपर्ने मन्त्रालय सम्हाल्दा समेत आफ्नो राजनीतिक जीवनका ५७ वर्षमा कहिल्यै पनि मानव अधिकार उल्लंघन नगरेको ओलीको दाबी थियो । उहाँले आफूले मानव अधिकारको उल्लंघन अहिलेसम्म नगरेको र अब पनि नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
अध्यक्ष ओलीले मानव अधिकारलाई राजनीतिक नियुक्तिको कार्यकाल, जागिरको रूपमा नलिई आदर्श, निष्ठा, यात्रा र गन्तव्यको रूपमा आफूले लिएको पनि स्पष्ट पार्नुभयो ।
ओलीले राजनीति विकृत भए मानव अधिकारको उल्लंघनको घटना बढेर जाने तथ्य पनि पटक–पटक स्मरण गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्