
काठमाडौं । प्रतिनिधि सभाको कार्यकाल चार महिना बाँकी रहँदा उपसभामुख चयन गर्ने दौडमा राजनीतिक दलहरु लागेका छन् ।
उपसभामुखको पद रिक्त भएको साढे दुई वर्षपछि पदपूर्ति गर्न लागिएको हो । त्यसका लागि आज बिहीबार उम्मेदवारको मनोनयन दर्ता गरिंदै छ भने भोलि शुक्रबार प्रतिनिधिसभामा मतदान हुनेछ ।
२०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि उक्त पद रिक्त रहँदै आएको छ ।
तत्कालीन सत्तारूढ दल नेकपाले सभामुखमा अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै तुम्बाहाङ्फेले राजीनामा दिनुभएको थियो ।
प्रतिनिधि सभाको सभामुख तथा उपसभामुख फरक दल र लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रतिनिधिसभा सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार बिहीबार बिहान ११ देखि अपराह्न १ बजेसम्म मनोनयनको समय तोकिएको छ । यस्तै, उम्मेदवारको नामावली प्रकाशन पनि आजै हुने छ । भोलि अपराह्न ३ बजेको सदनमा उपसभामुख चयनको प्रस्तावमाथि मतदान हुनेछ ।
सपसभामुखको लागि सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी नेतृ पुष्पा भुषालले उम्मेदवारी दिने बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्