
काठमाडौं । श्रीलंकामा नवनियुक्त राष्ट्रपति रनिल विक्रमासिंघेले संकटकाल घोषणा गर्दै कर्फ्यू लगाएपनि जनता आक्रोशित हुँदै सडकमा उत्रिएपछि कर्फ्यू हटाइएको छ ।
प्रदर्शनकारीहरूले राष्ट्रिय झण्डा फहराउँदै आपतकालीन अवस्था र अश्रुग्याँस प्रहारको प्रवाह नगरी सुरक्षा घेरा तोड्न खोजेपछी प्रहरीले बल प्रयोग गरेपछि थुप्रै प्रदर्शनकारी घाइते भएका छन् । राष्ट्रपति गोटाबाय राजापाक्षे देश छोडेर भागेपछि सभामुखले प्रधानमन्त्री विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरेपछि त्यहाँका जनता थप आक्रोशित बनेका छन् ।
राजापाक्षेले प्रधानमन्त्रीलाई राष्ट्रपतिको भूमिका निर्वाह गर्न अख्तियारी दिएको सभामुखलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यद्यपि राष्ट्रपति राजापाक्षेले आधिकारिक रूपमा राजीनामा दिन बाँकी छ ।
आफ्नो नयाँ भूमिका सुरु भएको केही घण्टापछि नै कार्यबाहक राष्ट्रपति विक्रमासिंघेले सेनालाई शान्ति सुव्यवस्था कायम राख्न जे पनि गर्ने अधिकार दिनुभएको छ । यसैबीच प्रदर्शनकारीले प्रधानमन्त्रीको कार्यालय कब्जा गर्नुका साथै कार्यालयमा मनपरी गतिविधि गर्न थालेका छन् ।
सेनाले भीड नियन्त्रण गर्ने प्रयास जारी राखेको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्