
एजेन्सी । श्रीलंकाको राजधानी कोलम्बोमा भएको सरकारविरोधी प्रदर्शनमा एक जनाको मृत्यु भएको छ ।
सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपमा ८४ जना घाइते भएका छन् । प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेपछि सास फेर्न गाह्रो भएर एक २६ वर्षीय युवकको मृत्यु भएको हो ।
श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेपछि प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरिएपछि उनको राजीनामा दिन माग गर्दै थप प्रदर्शन चर्किएको हो ।
कोलम्बोमा प्रधानमन्त्रीको कार्यालयको गेट तोड्न खोजेका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको थियो । झडपका क्रममा केही सैनिक र प्रहरी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रदर्शनकारीले कब्जा जमाएर बसेको सरकारी भवनहरू फिर्ता लिन सयौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
राष्ट्रपति भवन, संसद भवन र प्रधानमन्त्री कार्यालयजस्ता सरकारी सस्थान प्रदर्शनकारीबाट छुटाउन सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो ।
यसैबीच, श्रीलंकाका राष्ट्रपति गोटावाया राजापाक्षे माल्दिभ्सबाट सिंगापुर गएका छन् । परिवारका सदस्य र निजी सुरक्षाकर्मीसहित साउदी एयरको विमानबाट सिंगापुरतर्फ गएको समाचारमा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्