२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


प्रस्तावित अमेरिकी राजदूत भन्छन्– ‘चीनको दुष्प्रचारको सामना गर्दै नेपालबाट एमसीसी अनुमोदन भयो’


962
Shares

काठमाडौं । नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थम्प्सनले चीनको दुष्प्रचार अभियानको सामना गर्दै नेपालको संसद्बाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन भएको बताउनुभएको छ ।

राजदूत र्‍यान्डी बेरीको स्थानमा काठमाडौं आउन लागेका थम्प्सनले अमेरिकी सेनेटको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सुनुवाइका क्रममा यस्तो बताउनुभएको हो ।

नेपालले २०७८ फागुन १५ मा प्रतिनिधिसभाबाट ऊर्जा र सडक पूर्वाधारका लागि ५०० मिलियन डलर अमेरिकी सहयोग स्वीकार गर्ने सम्झौतालाई १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गरेको थियो । त्यस अवधिमा बेइजिङबाट एमसीसी अनुमोदन हुनु अघि र पछि असन्तुष्टिको टिप्पणी आएको थियो ।

सुनुवाइमा प्रस्तावित राजदूत थम्पसनले एमसीसीलाई चीनसँग जोड्दै एमसीसी सम्झौता पीआरसी (चीन) को दुष्प्रचार अभियानको सामना गर्दै फेब्रुअरीमा नेपालको संसद्ले ५० करोड डलरलाई अनुमोदन गरेको बताउनुभयो ।

सुनुवाइका क्रममा राजदूत थम्पसनले एमसीसी आयोजनाले नेपालको स्वच्छ, प्रचुर मात्रामा जलविद्युत्लाई दक्षिण एसियाको ऊर्जा ग्रिडसँग जोड्न विद्युत् प्रसारण लाइन निर्माण गर्ने बताउनुभयो ।

उहाँले एमसीसीले नेपालमा उच्च गुणस्तरका सडकहरू पनि निर्माण गर्ने र यी आयोजनाहरूले दुवै देशको समृद्धिमा सहयोग पुग्ने बताउनुभयो ।

उहाँले अमेरिका नेपालसँगको सम्बन्धको महत्वपूर्ण मोडमा रहेको पनि बताउनुभयो । नेपालले असार ६ मा अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई अघि नबढाउने निर्णय गरेको थियो ।