१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारत भ्रमण सद्भावना भ्रमण हो : अध्यक्ष दाहाल

‘लिउ जियान्चाओको नेपाल भ्रमणसँग हुन लागेको भारत भ्रमणको केही सम्बन्ध छैन’

39
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण सद्भावना भ्रमणको रूपमा रहेको बताउनुभएको छ ।

शुक्रबार भारतको ३ दिने भ्रमणका लागि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्ने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले आफ्नो भारतको राजनीतिक भ्रमण सद्भावना भ्रमणको रूपमा रहेको बताउनुभएको हो ।

उहाँले भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जगतप्रकाश नड्डाको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा जान लागेको बताउनुभयो ।

अध्यक्ष दाहालले भ्रमणका क्रममा नेपाल र नेपाली जनताको हितलाई केन्द्रविन्दुमा राखेर नेपाल–भारत सम्बन्धलाई अझ राम्रो बनाउने सम्बन्धमा भारतीय सरकार र नेताहरूसँग आफ्नो कुरा हुने उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले यो भ्रमणका लागि भारतसँग पहिले नै कुरा भएको भन्दै चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओको नेपाल भ्रमणपछि आफ्नो भारत भ्रमण हुनुमा कुनै सम्बन्ध नभएको स्पष्ट पार्नुभयो ।

अध्यक्ष दाहालले नेपाल–भारत सीमा समस्याको सम्बन्धमा कुटनीतिक सम्वादद्वारा विश्वासको वातावरण बनाएर टुंग्याउने विषयमा छलफल हुने बताउनुभयो । नेपालको विकासका लागि द्विपक्षीय स्थितिलाई सुदृढ गर्ने, व्यापार सन्तुलनलाई कम गर्ने लगायतको विषयमा पनि छलफल हुने उहाँको भनाइ छ ।

अध्यक्ष दाहालले द्विपक्षीय हितत हुनेगरी व्यापार र अन्य विकास निर्माणका कामहरू अगाडी बढाउने कुरा पनि हुने बताउनुभयो । आफ्नो भ्रमण राजनीतिक नेतृत्व, पार्टीहरू, जनता र दुई देशको सम्बन्ध सुदृढ गर्ने विषयमा केन्द्रित हुने उहाँले उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले भारत भ्रमणका सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्रालयसँग परामर्श लिएको बताउनुभयो । भ्रमण महत्वपूर्ण भएको उल्लेख गर्दै उहाँले आफू उत्साहका साथ भ्रमणमा गएको उल्लेख गर्नुभयो ।

दाहाल साउन १ गते आइतवार स्वदेश फर्किने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।