
काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिले फोहोरलाई मल बनाउने विषयमा चासो देखाएको छ ।
शुक्रबार समितिले सांसदहरूलाई भक्तपुर नगरपालिकाले फोहोरलाई व्यवस्थापन गरी प्रांगारिक मल बनाएको विषयमा बैठकमा जानकारी दिएको हो ।
समितिको शुक्रबारको बैठकमा सांसदहरूले भक्तपुर नगरपालिकाले फोहोरबाट प्रांगारिक मल बनाउने प्राविधि र प्रक्रियाको विषयमा जानकारी लिएका हुन् ।
भक्तपुरमा फोहोरबाट मल कसरी कुन प्रविधिबाट बनाएर मल बिक्री गरिरहेको विषयमा रिकिसी कम्पोस्ट प्रा.लि.की प्रवन्ध निर्देशक उषा गिरीले जानकारी गराउनुभएको थियो ।
निर्देशक गिरीले भक्तपुर नगरपालिकाले चार वर्षदेखि कुहिने फोहोरमार्फत गन्धरहित मल रिकिसी कम्पोस्ट प्रा.लि.को प्राविधिक सहयोगमा बनाइरहेको बताउनुभयो ।
उहाँले कुहिने फोहोर संकलन गरेर प्लान्टमा आवश्यकताअनुसार तोकोजाई (धानको भुस, धानकै ढुटो, पत्कर, रातो माटो र ब्याक्टेरिया) मिसाएपछि मल बनाउने बताउनुभयो ।
निर्देशक गिरीले यो प्रविधि जापानी प्रविधि भएको र यस प्रविधिले प्राङ्गारिक मल गन्धरहित र विरुवाका लागि पूर्ण पौष्टिक हुने रामेछापको गोकुलगंगामा आलु खेतीमा प्रयोग गरेर समेत देखिएको बताउनुभयो ।
उहाँले यो मल रासायनिक मल प्रयोग नभएको स्थानमा रासायनिक मलको भन्दा राम्रो हुने बताउनुभयो ।
निर्देशक गिरीले पछिल्लो समय काठमाडौं उपत्यका लगायतका स्थानमा फोहोर व्यवस्थापनको समस्या समाधान गर्न कुहिने फोहोरबाट प्रांगारिक मल उत्पादन गर्नसकिने बताउनुभयो ।
उहाँले फोहोरबाट मल उत्पादन गर्नसके अर्गानिक वस्तु उत्पादन गर्नसकिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्