
काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला अदालतमा भौतिक संरचना अपर्याप्त हुँदा न्याय सम्पादन प्रभावित भएको छ ।
२०५३ सालमा २ जना न्यायाधीशको दरबन्दी अनुसार २ वटा कोठा सहितको १४ कोठाको भवन रहेकोमा अहिले एउटा सानो कोठामा थप एक इजलास कायम गरिएको छ ।
च्याम्बरहरू एकदम साँघुरा छन् भने कर्मचारी बस्ने ठाउँसमेत अभाव छ । वैतनिक कानुन व्यवसायीलाई छुट्टै कक्ष नहुनु, थुनुवा कक्षको व्यवस्थापन नहुनु जस्ता कारणले न्याय सम्पादन प्रभावित भएको हो ।
४ कोठा निर्माणका लागि बजेट माग गरिएकोमा हालसम्म निकासा नभएको प्रमुख जिल्ला न्यायाधीश मोहनराज भट्टराईले बताउनुभयो । उहाँका अनुसार दरबन्दी अनुसार कर्मचारी पदपुर्ति नहुँदा समस्या झनै थपिएको छ ।
कोठा अभावका कारण मिसिल व्यवस्थापन गर्न सकस भएको छ । मिसिल राख्न दराज किन्ने रकम भए पनि दराज राख्ने ठाउँ नभएकाले भाडा तिरेर बाहिर राख्नुपर्ने अवस्था रहेको काभ्रेपलाञ्चोक जिल्ला अदालतका श्रेस्तेदार गोविन्द घिमिरेले बताउनुभयो ।
४६ प्रतिशत मुद्दा फर्छ्यौट
यसैबीच, जिल्ला अदालतबाट एक वर्षको अवधिमा ४६ दशमलव ७६ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ ।
जिम्मेवारी सरेको र चालु आर्थिक वर्षमा दर्ता भएका २ हजार ९ सय ३६ मध्ये १ हजार ३ सय ७३ मुद्दा फर्छ्यौट भएको श्रेस्तेदार घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार १ हजार ५ सय ६३ मुद्दा फर्छ्यौट हुन बाँकी छ ।

चालु आर्थिक वर्षमा दर्ता भएका १ हजार ७ सय १४ मुद्दामध्ये ७ सय ९ मुद्दा फर्छ्यौट भएको छ भने १ हजार ५ मुद्दा फर्छ्यौट हुन बाँकी छ ।
यस्तै जिम्मेवारी सरेका १२ सय २२ मुद्दामा ६ सय ६४ (५४.३४ प्रतिशत) फर्छ्यौट भएको छ ।
जिल्ला अदालतले १ हजार ३ सय १२ मुद्दा दर्ता हुनसक्ने अनुमान गरेकोमा अनुमानभन्दा ४ सय २ थान बढी मुद्दा दर्ता भएको हो ।
यस्तै, १६ सय ५६ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य रहेकोमा लक्ष्य भन्दा २ सय ८३ थान कम फर्छ्यौट भएको छ ।
प्रतिक्रिया दिनुहोस्