१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


सरकारले चरम अनियमितता र सत्ताको दुरुपयोग गरिरहेको एमालेको आरोप

कोभिड महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध नगराएकाेमा असन्तुष्टि

52
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले सरकारले चरम अनियमितता र सत्ताको दुरुपयोग गरिरहेको आरोप लगाएको छ ।

नेकपा (एमाले)को स्वास्थ्य तथा जनसंख्या विभागले शुक्रबार च्यासलस्थित पार्टीको केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी ठूलो मात्रामा बजेट रकमान्तर गराएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चरम अनियमितता र सत्ताको दूरुपयोग गरेको बताएको हो ।

आर्थिक वर्ष सकिनु तीन दिन बाँकी रहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ठूलो मात्रामा बजेट रकमान्तर गराएर आर्थिक अपचलन र पदीय दूरूपयोग गरेको पाइएको विभाग प्रमुख योगेशकुमार भट्टराईले बताउनुभयो ।

एमालेका सचिव समेत रहनुभएका उहाँले सरकारको एक वर्षे कार्यकाल पूर्णत असफल भएको पनि बताउनुभयो । चालू आर्थिक वर्षमा स्वास्थ्य मन्त्रालयमा मात्रै १ अर्ब २२ करोड बेरुजु आएको उल्लेख गर्दै एमालेले सरकार आर्थिक अनुशासनमा पनि असफल भएको आरोप लगाएको छ ।

एमालेले संसदीय समितिहरूमा समेत छलफल नगराई स्वास्थ्य तथा जनसंख्यासम्बन्धी विधेयक धमाधम पारित गरिरहेको भन्दै सरकारप्रति आक्रोश समेत व्यक्त गरेको छ ।

स्वास्थ्य क्षेत्रको अनुसन्धान समेत कमजोर हुने गरी सरकारले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूको सुरक्षासम्बन्धी ऐन २०६६ को संशोधन र औषधि ऐन २०३५ को संशोधन गरेको उल्लेख गर्दै विभागका प्रमुख भट्टराईले आपत्ति जनाउनुभयो ।

सरकारले कोभिड महामारीमा खटिएका स्वास्थ्यकर्मीहरूलाई अझै जोखिम भत्ता उपलब्ध नगराएको पनि एमालेले असन्तुष्टि जनाएको छ ।

विभागका प्रमुख भट्टराईले सर्वोच्च अदालतको आदेश अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी मिलानको कामलाई अघि नबढाएको आरोप पनि लगाउनुभयो ।