१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पर्सामा गर्मी बढेपछि पठनपाठन बन्द


754
Shares

काठमाडौं । अत्यधिक गर्मीका कारण पर्साका वीरगञ्ज महानगरपालिकासहित पर्साका पाँच पालिकाले विद्यालयमा गर्मी बिदा दिएका छन् ।

वीरगञ्ज महानगरभित्रका सबै विद्यालयमा आगामी साउन १ देखि साउन २० गतेसम्म पठनपाठन बन्द हुने भएको छ । शैक्षिक क्यालेन्डरमा साउन ८ गतेदेखि वर्षे बिदा भए पनि संशोधन गरेर पठनपाठनका लागि बिदा दिइएको महानगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

यसैगरी पर्साको कालिकामाई गाउँपालिकाले सामुदायिक विद्यालयमा गर्मी बिदा दिएको छ । गाउँपालिका शिक्षा शाखाका अनुसार गाउँपालिकाअन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयमा साउन १ देखि साउन २९ गतेसम्मका लागि बिदा दिइएको हो ।

पोखरिया नगरपालिकाले पनि विद्यालयमा गर्मी बिदा दिएको छ । पोखरिया नगरपालिकाले गर्मी बढेपछि साउन १ देखि साउन २८ गतेसम्मका लागि बिदा दिएको हो ।

यसैगरी पकाहामैनपुर गाउँपालिकाले साउन १ देखि साउन २८ गतेसम्म सामुदायिक विद्यालयमा बिदा दिएको छ । बिन्दवासिनी गाउँपालिका विद्यालय पनि एक महिनाका लागि बन्द गरिएका छन् ।