
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला भइरहेको बताउनुभएको छ ।
एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई आज (साेमबार) सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । कालो धनलाई सेतो बनाउनका लागि नै अहिले पनि गभर्नर महाप्रसाद अधिकारीमाथि लाञ्छना लगाइएको उहाँकाे तर्क छ ।
उहाँले अहिले गभर्नरमाथि बनाइएका बहाना भन्नेकुरा मात्रै रहेको उल्लेख गर्नुभयो । उहाँले आर्थिक हिसाबले पनि कुशासन र दुर्घटनाको बाटोतिर मुलुक गइरहेको समेत दावी गर्नुभयो । उहाँले बनावटी रूपमा मूल्यवृद्धि गर्दा आम जनताको चुलो बल्न नसकेको भन्दै आफ्नो घरमा समेत दुई थरि तरकारी पाक्न नसक्ने अवस्था सिर्जना भएको बताउनुभयो ।
उहाँले राज्य डरलाग्दो रूपमा विचौलियाहरूको नियन्त्रणमा जान थालेको बताउनुभयो । अहिलेको गठबन्धन सरकाराई राजनीतिक गठबन्धनको रूपमा व्याख्या गर्दै राजनीतिक गठबन्धनको आवरणमा रहेको वित्तिय गठबन्धनले भ्रष्टाचार, कालाबजारीया र कमिसनतन्त्रलाई संरक्षण गरिरहेको उहाँले आरोप लगाउनुभयो ।
अहिलेको गठबन्धन मुलुकका लागि डरलाग्दो रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणमा पूर्वअर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई प्रवेश गर्न दिइ करका दर हेरफेर गरेको बताउनुभयाे । साथै सीसीटिभी फुटेज मेटाएको विषयमा पनि गहिराईमा पुगेर सत्यतथ्य छानिबन गर्ने र घटनालाई तोडमोड गर्न नदिने स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्