
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग गृहमन्त्री बालकृष्ण खाँण र कानूनमन्त्री गोविन्दप्रसाद कोइरालाले भेटवार्ता गर्नुभएको छ ।
भारतको तीनदिने भ्रमणबाट आइतबार स्वदेश फर्किनुभएका दाहाललाई मन्त्रीद्वयले साेमबार दाहालकै निवास खुमलटारमा भेटवार्ता गर्नुभएको हो । साेही छलफलमा माओवादी नेताहरू देव गुरुङ, वर्षमान पुन र शक्ति बस्नेत पनि सहभागी भएका थिए ।
भेटमा नागरिकता विधेयक, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
सरकारले संघीय संसदमा पेश गरेका नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकसहितका विधेयकका विषयमा कुराकानी भएको सचिवालयले जनाएकाे छ । ती विधेयकहरूबारे संसदमा सत्तारुढ गठबन्धनको एउटै धारणा बनाएर अगाडि बढ्ने विषयमा छलफल भएकाे जनाइएकाे छ ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका सम्बन्धमा सत्तारुढ दलहरूको एउटै धारणा बनाएर अघि बढ्न सैद्धान्तिक सहमति समेत बनेको छ ।
प्रतिक्रिया दिनुहोस्