८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


कोभिड-१९ को सत्य के हो ? प्रयोगशालाको उपज हो कि प्राकृतिक विषाणु ?


0
Shares

-हरिविनोद अधिकारी

संसारमा अघिल्लो वर्ष २०१९को डिसेम्बरदेखि सुरु भएर जनबरीको सुरुदेखि फैलिएको संक्रामक रोग जसलाई नामाकरण गरिएको छ, कोभिड-१९ अझै आफ्नो बैँसमा छ । यी हरफहरु लेख्दाभन्दा अनलाइनमा प्रसारित हुँदासम्ममा हजारौंको संख्यामा संक्रमितहरुको अङ्क पुग्नेछ र मृत्यु वरण गर्नेहरुको संख्या पनि त्यसैगरी थपिने छ । चीनको वुहानबाट सुरु भएको मानिएको कोरोना कहर अहिले संयुक्त राज्य अमेरिका र युरोपमा केन्द्रित छ । अमेरिका पछि बेलायतमा यसले आफ्नो प्रभाव देखाइरहेको छ र कुन कुन देशमा कसरी संक्रमण थपिने हो भन्ने कुराको कुनै अनुमान गर्न सक्ने अवस्था छैन ।

न ओखती छ, न यसको कुनै देखिने लक्षण फेला परेको छ । भनिएका लक्षणहरु पटक्कै नदेखिँदा पनि मानिसहरु भटाभट मरेकै छन् । मर्नेभन्दा  बिसेक भएर घरमा आउने धेरै छन् । ओखतीका कुरा गर्दा  कहिले भन्छन् औलोको तीतो गोली लाभदायक हुन्छ, कसैले भन्छन् एड्स् संक्रमणमा रोगसँग लड्ने शक्ति सञ्चय गर्नका लागि प्रयोग हुने ओखती लाभदायक हुन्छ । कहीँ सामान्य रुघाखोकी पनि देखिँदैन तर संक्रमित मानिन्छ त कहीँ भेन्टिलेटरसम्मको प्रयोगले पनि विरामी बाँचेको पाइँदैन । फेरि संसारका २१०ओटा देशहरु र दुईओटा ठूला पानी जहाजमा यसको संक्रमण विस्तारित छ । के हो के हो, संक्रमणमा पर्नेहरु कतै कम हुँदै गएका छन् त कतै ज्यामितीय रुपमा विस्तारित हुँदैछ ।

संसारका मानवीय हितका लागि गरिने भनेका अनुसन्धानको पनि यसले सीमितता देखायो, अति सुविधाजनक र प्राप्य मानिने स्वास्थ्य सुविधाको पनि यसले क्षमता कति रहेछ भन्ने अनुमान गर्न सहज बनायो । एकैपटक संसारको पूर्वी कुनोदेखि पश्चिमको र दक्षिणी ध्रुवदेखि उत्तरी ध्रुवसम्मको पहुँचलाई पनि कोरोनाले आफ्नो प्रभाव क्षेत्र देखायो ।

कोही भन्छन् यो  भाइरस प्रयोगशालाबाट वर्णसङ्कर विषाणुको रुपमा विकसित भएको हो, कोही भन्छन् यो चमेरोबाट मानिसहरुमा सरेको हो त कोही भन्छन् पहिलेकै भाइरसको पछिल्लो पुस्ता हो । जव वैज्ञानिकहरुमा नै यससम्बन्धी जानकारी छैन, यसको प्रभावलाई कसरी न्यूनीकरण गर्नेबाहेक अरु थाहा छैन, कसरी यसको चाँडै समाधान आउला ? अहिले त एउटै समाधानको उपाय भनेको सर्न नदिने उपाय हो लकडाउन । एकैठाउँमा बसेर रोगलाई प्रसारित हुन नदिने । सबैभन्दा स्वास्थ्य सुविधा भएका ठाउँमा यसले अड्डा जमाएर बसेको छ । अरु त अरु, बेलायतका प्रधानमन्त्रीसमेत यसबाट पीडित भएका छन् र धेरै देशका प्रशासनिक, सैनिक तथा राजनीतिक व्यक्तिहरु कोरोना पीडित बनेका छन् । त्यसअर्थमा नेपालमा भर्खर ९९ जनामा मात्र संक्रमण देखिएको छ ,त्यो पनि आयातीत अवस्थामा । मात्र एउटा अवस्थामा मात्र बाहिरबाट आउनेले सारेको देखिन्छ ।

हामी चैत्र ११ देखि लकडाउनमा छौँ । त्यो लकडाउन पनि बडो लचिलो छ । गाडीमा मानिसहरुलाई आवत जावत गराउन सरकारकै मन्त्रीहरु लागेका छन्, गाउँ ठाउँ र स्थानीयताको ठूलो असर देखिएको छ । विस्तारै संक्रमण बढ्दैछ र एकअर्कालाई दोष दिएर पन्छिने सुरमा हामी छौँ । अब हामी जेठ ५ गतेसम्मका लागि लकडाउनलाई मात्र अन्तिम अस्त्र  मानेर  घरमा नै बस्ने भएका छौँ । जनताका आवश्यकता र त्यसबाट पार पाउने उपायमा हामी लाग्न यसकारणले सकेका छैनौँ कि हाम्रा नीति निर्मातालाई यो या त अनुभवविहीनताको विषय बनेको छ या त यो नै मुलुकको लागि दोहनको अर्को समय फेला परेको छ । जनताले राहत खोजेका छन् , अभिभावकत्व खोजेका छन् , आफ्नो रगतमा वा खकार वा सिँगानमा भाइरस छ कि छैन भनेर जाँच्न खोजेका छन्, हो त्यसैमा चाहिँ सरकारको खासै वास्ता छैन । सरकार भनेको जनताको जिम्मा लिएर दायित्वमा रहेको सँस्था हो । यो बेलामा कुनै पनि सूचना शुद्ध र सहज तरिकाले उपलब्ध गराउन सक्नुपर्छ तर यही बेलामा अग्रस्थानमा बसेर , रोगको पर्बाह पनि नगरी समाचार दिने पत्रकारहरु नै सरकारको दमनको निसानामा परेका समाचारहरु आएका छन् ।

अनलाइन पढाइको हल्ला बढी गर्न थालियो

अर्को समस्या मानिएको छ विद्यार्थीहरुको पढाइको । परीक्षाको । सहज छ यसको उपाय । विद्यालय र क्याम्पसहरुलाई त्यसको जिम्मा दिने । विद्यालयले माध्यमिक तहको अन्तिम परीक्षाको १२ हो । अहिलेको लागि तत्काललाई कक्षा १०, ११ र १२का प्रश्नपत्रहरु तयार भइसकेका छन् र सम्बन्धित प्रहरी क्षेत्रमा पुगिसकेको अवस्था छ । सवै प्रश्नहरु लकडाउन खुले पछि विद्यालयहरुलाई दिने , उनीहरुले नै परीक्षा लिन्छन् , नतिजा तयार गर्छन् अनि प्रकाशन गर्छन् जसको परिणाम परीक्षा बोर्डलाई दिन्छन् । त्यही नै यसपटकको लागि अन्तिम नतिजा मान्दा हुन्छ । र यसले पछिका लागि पनि मार्ग निर्देशन गर्नेछ  किनभने हाम्रो माध्यमिक तहको अन्तिम कक्षा  भनेको कक्षा १२ हो ।

क्याम्पसको पनि सहज छ , यही उपायलाई प्रयोग गरेमा खर्च पनि कम हुने, दायित्व पनि बहन हुने अनि अधिकार र कर्तव्यप्रतिको सहजीकरणले विकेन्द्रीकृत स्वरुप पनि विकास हुनेछ । सेमेस्टर प्रणालीको मर्मअनुसार कक्षा भएका छन्, परीक्षा भएका छन् र परिणाम तयार भएका छन् ? आत्मालोचना गरौँ । भएका छैनन् । सेमेस्टरको परीक्षा भएको ८ महिनासम्म पनि परिणाम आउँदैन कुनै बेलामा । अनि सेमेस्टर प्रणालीको परीक्षालाई किन ६ महिनामा नै गर्ने ? किन वार्षिक परीक्षा, त्यो पनि क्याम्पसकै अन्तिम जिम्मामा नदिने ? दिनु पर्ने ज्ञान हो, सिप हो, प्रमाणपत्रमात्र होइन । जीवनलाई सार्थक बनाउने सिप कति दिन सकेका छौँ भन्ने पनि अहिले थाहा पाउने बेला हो ।

अनलाइन कक्षाको कुरा आयो । सूचना प्रविधिको विकासलाई प्रयोग गर्नु हाम्रो कर्तव्य हो र सुविधाको प्रयोग गर्नु पनि हाम्रो अधिकार हो तर यसले विद्यार्थीहरुमा डिजिटल डिभाइडको मारमा पो पार्ने हो कि ? साधन विना अनलाइन कक्षा सम्भव छैन । विद्यार्थीहरु सहरमा मात्र छैनन् र सबैमा दूरसञ्चारको प्रविधि पुगेको छैन । अहिले पो सबै घरमा लकडाउनमा छन् , २४घण्टा फुर्सदमा छन् र पनि प्रविधिको पहुँचले राम्रो अवस्था देखाएको छैन । सक्छौँ भने रेडियोमार्फत शिक्षा दिने काम गरौँ या टेलिभिजनको विस्तार गरेर त्यसबाट दूर शिक्षाको पहुँच प्रत्याभूत गरौँ । व्यावहारिक शिक्षालाई अनुसन्धानका आधारमा विस्तारित गरौँ । तर अनलाइन कक्षाको नाममा गरिबी र अमिरीको विभाजनमा विद्यार्थी र अभिभावकलाई नपारौँ ।

अहिले त हामीले यो महाव्याधिको अन्तको कामना गरेर शान्तपूर्वक समय पर्खने हो । जनस्वास्थ्यको सहजीकरण गर्ने हो , शान्तिको आराधना गर्ने हो र नेपालमा संक्रमणलाई कसरी कमी गर्ने र कमभन्दा कम क्षति कसरी होस् भन्ने कामना र कर्तव्य पूरा गर्ने हो । जीवनलाई सहज कसरी बनाउने र यो महाव्याधि पछि कसरी जीवनलाई अझ व्यावहारिक बनाउने भन्ने योजना पनि बनाउने हो । सायद त्यही नै शिक्षा हो, विद्या हो  ।