
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यकाल आगामी निर्वाचनको मनोनयन दर्ता गर्ने दिनसम्म रहने बताउनुभएको छ ।
सोमबार सिंहदरबारमा पत्रकारहरूसँग भेटघाट गर्दै सभामुख सापकोटाले वर्तमान प्रतिनिधिसभाको कार्यकाल आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने दिनसम्म रहने बताउनुभएको हो ।
सभामुख सापकोटाले आइतबार प्रतिनिधिसभाको कार्यकालको सम्बन्धमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख र आफूबीच छलफल चलेको भन्दै सबैको बुझाइ मनोनयन दर्ता गर्ने दिनसम्म रहन्छ भन्ने रहेको बताउनुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले यस विषयमा छलफल गर्दै जाने र छलफलबाट आएको निस्कर्षअनुसार गर्ने भन्नुभएको सभामुख सापकोटाले जानकारी दिनुभयो ।
‘हिजो उपसभामुखको शपथ थियो, त्यहाँ राष्ट्रपतिज्यू, उपराष्ट्रपतिज्यू, प्रधानमन्त्रीज्यू, राष्ट्रियसभाका अध्यक्षज्यू र उपसभामुखज्यूसमेतको छलफलमा प्रधानमन्त्रीज्यूले छलफलबाट निष्कर्ष निकाल्ने कुरा भयो’ उहाँले भन्नुभयो, ‘तर, मोटामोटी सबैको बुझाई चाहिँ प्रतिनिधिसभाको नोमिनेशन दिनसम्म रहने भन्ने भयो ।’
सभामुख सापकोटाले प्रतिनिधिसभाको कार्यकालको सम्बन्धमा संविधानविद्हरूसँग छलफल गर्नु आवश्यक रहेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्