
काठमाडौं । पूर्वी नाका काँकडभिट्टाबाट भारत, बंगलादेश र भुटानसँग हुने नेपालको व्यापारमा उच्च घाटा देखिएको छ ।
काँकडभिट्टा नाकामार्फत भारतसँग नेपालको व्यापार घाटा २५ अर्ब ४८ करोड २७ लाख भएको झापाको मेची भन्सार कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७८/०७९ मा काँकरभिट्टा नाका भएर भारतबाट ३६ अर्ब १८ करोड मूल्य बराबरको सामान आयात भएको छ भने नेपालबाट १० अर्ब ६९ करोड ९५ लाख रुपैयाँको सामान मात्र निर्यात भएको छ ।
बङ्लादेशसँग १० अर्ब ९ करोड ९९ लाख र भुटानसँग ७४ करोड ८६ लाख रुपैयाँ घाटा पुगेको छ । आर्थिक वर्ष २०७८/०७९ मा १० अर्ब ६५ करोड ३५ लाख बराबरको सामान बङ्लादेशबाट आयात भएको थियो भने नेपालबाट ६० करोड ४५ लाखको मात्र सामान निर्यात भएको भन्सारको तथ्याङ्कमा उल्लेख गरिएकाे छ ।
त्यस्तै भुटानबाट १ अर्ब २० करोड ५३ लाखको सामान आयात हुँदा ४५ करोड ६५ लाख सामान निर्यात भएको थियो । बंगलादेश र भुटानसँग नेपालले काँकडभिट्टा नाकामार्फत व्यापार गर्दै आएको छ । नेपालले आर्थिक वर्ष २०७७/०७८ मा ६ अर्ब ४८ करोड र २०७६/०७७ मा ३ अर्ब ९९ करोड व्यापार घाटा बेहोरेको थियो ।
यसैबीच मेची भन्सार कार्यालय काँकरभिट्टाले आर्थिक वर्ष २०७८/०७९ मा लक्ष्य भन्दा बढी राजस्व असुली गरेको छ । भन्सार कार्यलयले १७ अर्ब ५३ करोड १९ लाख राजस्व सङ्कलन भएको छ । भन्सार कार्यालयले १५ अर्ब ७५ करोड ४७ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।
प्रतिक्रिया दिनुहोस्