
काठमाडौं । प्रदीप खड्काद्वारा अभिनित चलचित्र ‘प्रकाश’को ट्रेलर सार्वजनिक भएको छ ।
मंगलबार रिलिज उक्त फिल्मको २ मिनेट १५ सेकेन्ड लामो ट्रेलरमा सपना पूरा गर्न घरबाट निस्किएको मुख्य पात्रको कथा प्रस्तुत छ । भदौ १० गतेबाट रिलिजको तयारीमा रहेको चलचित्रमा जनयुद्धका कारण वेपत्ता आफ्ना श्रीमान् र पितालाई पर्खिरहेका परिवारको कथा देखाइएको छ ।
चलचित्रमा प्रदीप खड्कासँगै दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिानय रहेको छ ।
कर्णालीको परिवेशका पहिरन, संवाद र शैलीमा कलाकारहरूलाई जीवन्त देखाइएको छ । सरकारी स्कुलको जागिर खानका लागि एक युवाले गर्ने संघर्षलाई चलचित्रमार्फत देखाइएको छ ।
विकास सुवेदीको लेखनमा तयार भएको चलचित्रलाई ‘प्रसाद’ फेम्ड निर्देशक दिनेश राउतले निर्देशन गरेका हुन् ।
बिनिस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, ताराप्रकाश लिम्बु र एलिस कार्कीको संगीत छ ।
महेन्द्र अधिकारीको लगानीमा यो चलचित्र निर्माण भएको हो ।
प्रतिक्रिया दिनुहोस्