
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन उद्योगलाई सुधार्न चाँडै पर्यटन पुनःउत्थान कार्यक्रम घोषणा गर्ने बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले आज बुधबार आयोजना गरेको कार्यक्रम सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । सिमफोजिम पार्टनरसिप रेजिलेन्ट टुरिजम कार्यक्रममा मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायहरुसँग पर्यटन पुनःउत्थानका लागि लिइएको सुझावको आधारमा पर्यटन पुनरुत्थान कार्यक्रम घोषणा गर्ने तयारी मन्त्रालयले गरेको बताउनुभयो ।
उहाँले पर्यटन पुनरुत्थान कार्यक्रम घोषणाले कोरोना महामारीबाट थला परेको पर्यटन उद्योगको सुधार र पर्यटन प्रवद्र्धन हुने दाबी गर्नुभयो । मन्त्री श्रेष्ठले पर्यटन पुनरुत्थान कार्यक्रमलाई राष्ट्रिय अभियानको रुपमा नै अगाडि बढाउने मान्यतामा रहेको बताउनुभयो । उहाँले अर्थतन्त्रमा आइपरको कठिनाई तथा भविष्यमा आउने चुनौतीको अनुमान गरेर पर्यटन क्षेत्रको दिगो विकास गरी आयआर्जन गर्ने र रोजगारी सिर्जना गर्ने विषयमा मन्त्रालय गम्भिर रहेको बताउनुभयो ।
मन्त्री श्रेष्ठले अब आन्तरिक पर्यटकलाई समेत समग्र पर्यटकको दिगो विकासको आधार स्तम्भको रुपमा विकास गरी पर्यटन क्षेत्रको विकास गर्ने अवधारणा बनाउन आवश्यक रहेको बताउनुभयो । नेपालले भारत, चीन र बंगलादेश लगायतका छिमेकी देशबाट आउने पर्यटकको प्रवर्द्धन गरी पर्यटन क्षेत्रलाई सुदृढ बनाउन आवश्यक रहेको उहाँले बताउनुभएकाे छ । मन्त्री श्रेष्ठले सार्क देशहरुबाट गुणस्तरीय पर्यटन आगमन एवम क्रस बोर्डर पर्यटनको लागिसमेत अधिक प्रयास गर्नु आवश्यक रहेको समेत बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्