
काठमाडौं । बेलायतमा नयाँ प्रधानमन्त्रीका लागि पूर्व अर्थमन्त्री ऋषि सुनक र पूर्व विदेशमन्त्री लिज ट्रसबीच अन्तिम भिडन्त हुने भएको छ ।
प्रधानमन्त्री बोरिस जोनसनले पदत्याग गर्ने घोषणा गरेकाले उहाँको स्थान लिन सत्तारुढ कञ्जरभेटिभ दलभित्र सांसदहरुबीच उम्मेदवार चयनका लागि भएको मतदानबाट सुनक र लिज उम्मेदवार चयन भएका हुन् । संसदीय दलमा भएको पाँचौं तथा अन्तिम मतदानमा सुनक १३७ मतसहित अग्रस्थानमा आए भने ट्रस ११३ मतसहित दोस्रो भएकी छन् ।
१०५ मतसहित तेस्रो स्थानमा आएकी पूर्व ब्यापार मन्त्री पेनी मोर्डन्ट भने प्रतिष्पर्धाबाट बाहिरिएकी छन् । संसदीय मतदानको क्रम पूरा भएकाले अब कञ्चरभेटिब दलका १ लाख ६० हजार सदस्यहरुले प्रत्यक्ष मतदानबाट दलको नेता चयन गर्ने छन् । भारतीय मूलका ऋषि सुनकले आर्थिक पुनरुत्थान र युरोपेली युनियनसंग बाँकी रहेका समस्या समधानलाई मुख्य मुद्दा बनाएका छन् ।
संसदीय दलमा सुनक लोकप्रिय सावित भएपनि अधिकांश गोरा सदस्यहरुको प्रत्यक्ष मत जित्न उनका लागि सजिलो नरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्