१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


श्रीलंकामा सरकार विरोधी प्रदर्शनकारीको क्याम्पमा सुरक्षाकर्मीको धावा


481
Shares

काठमाडौं । श्रीलंकामा रनिल विक्रमासिंघेले नयाँ राष्ट्रपतिको सपथ लिएलगत्तै सरकार विरोधी प्रदर्शनलाई नियन्त्रण गर्ने प्रयास सुरू भएको छ ।

सुरक्षा फौजले शुक्रबार एकाबिहानै राष्ट्रपति भवन बाहिर अड्डा जमाईरहेका सरकार विरोधी प्रदर्शनकारीहरूको क्याम्पमा धावा बोलेका छन् । सुरक्षाकर्मीहरूले दर्जनौं प्रदर्शनकारीलाई नियन्त्रणमा लिनुका साथै राष्ट्रपति भवन अगाडिको क्याम्प खाली गराएका छन् ।

त्यस क्रममा पुलिसले पत्रकारहरूमाथि पनि दुर्व्यवहार गरेको खबर छ । अन्तर्राष्ट्रिय मिडियाका संवाददाताहरूका क्यामेरा खोस्ने र भिडियो डिलिट गराएको समाचारमा जनाइएको छ । आर्थिक संकटबाट ग्रस्त श्रीलंकामा लामो समयदेखि सडक प्रदर्शन हुदै आएको छ ।

प्रदर्शनकारीहरू राष्ट्रपति भवनमै प्रवेश गरेपछि राष्ट्रपति गोताबाया राजपाक्षे देशै छाडेर भागेका थिए । उनको ठाउँमा संसदले राष्ट्रपति चयन गरेका रनिल विक्रमासिंघे पनि जनतामाझ ज्यादै अलोकप्रिय व्यक्ति हुनुहुन्छ ।

यद्यपी उहाँले देशलाई सही दिशा दिने कोशिस गर्नसक्ने भन्दै कतिपय प्रदर्शनकारीहरूले उहाँलाई केही समय शंकाको सुविधा दिने पनि बताइरहेका छन् ।