
काठमाडौं । नेपालगन्ज भन्सार कार्यालय गत आर्थिक वर्ष २०७८/०७९ मा लक्ष्य अनुसार राजस्व संकलन गर्न असफल भएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा उत्साहजनक रूपमा असुली गरेको कार्यालयले गत आर्थिक वर्षमा भने लक्ष्यको ८८.५ प्रतिशत मात्रै असुली गरेको हो । पछिल्लो १० वर्षमा कार्यालय दोस्रोपटक लक्ष्य पूरा गर्न असफल भएको छ ।
गत आर्थिक वर्षमा २५ अर्ब २१ करोड २६ लाख राजस्व असुली गर्ने लक्ष्य राखेकोमा २२ अर्ब ३१ करोड २६ लाख अर्थात ८८.५ प्रतिशत मात्र असुली गरेको हो ।
यो असुली अघिल्लो आर्थिक वर्ष भन्दा १ अर्ब ८ करोड ७९ लाखले बढी भएपनि गत आर्थिक वर्षको लक्ष्य भन्दा २ अर्ब ९० करोडले घटी रहेको छ ।
सरकारले बैंकिङ कारोबारमा कडाईलगायत विभिन्न मालसामान आयातमा रोक लगाएका कारण भन्सारले राजस्व भेटाउन नसकेको भन्सार कार्यलयले जनाएको छ । गत आर्थिक वर्षमा लक्ष्य भेटाउन नसकेपनि नेपालगन्ज भन्सारलाई चालु आर्थिक वर्षमा भने भन्सार विभागले थप ४ अर्ब बढाएर २९ अर्ब ३२ करोड लक्ष्य तोकेको छ ।
प्रतिक्रिया दिनुहोस्