१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


काठमाडौं र धरानमा साइरनरूपी उदाएका युवाहरूको भाषा बुझ्न जरुरी छ : सभामुख


1.001k
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले युवाहरूको आवाजलाई अहिले सिंगो राष्ट्रले बुलन्द गरिरहेको बताउनुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित राष्ट्रमा जीपीएस समृद्ध अभियानको शुभारम्भ गर्दै सभामुख सापकोटाले अहिले राष्ट्रमा काठमाडौं र धरान लगायतका स्थानमा युवाहरूको आवाजरूपी संकेतको रूप देखापरेको बताउनुभयो ।

सभामुख सापकोटाले युवाहरुको आवाज बुलन्द गर्ने छिटपुट संकेत देखा परे पनि साइरनरूपी यी संकेतको भाषा बुझ्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले पर्याप्त फलफूल, तरकारी, खाद्यान्न उत्पादन गर्ने नेपालजस्तो उर्वरभूमिमा २ खर्ब ५० करोडको खाद्यवस्तु आयात हुनु दुःखद् भएको बताउनुभयो ।

सभामुख सापकोटाले खरानीसमेत नेपालमा आयात हुन्छ भन्ने सुन्दा अचम्मित भएको बताउनुभयो ।

हामी कति विडम्वनापूर्ण स्थितिमा बाचिरहेका छौं भने नेपालजस्तो देश जहाँ सागपात, यी हाम्रा लागि असाध्यै ठूलो मात्रामा उत्पादन गर्नसक्छौं तर गुन्द्रुकसमेत अन्तबाट आयात गर्छौं,’ उहाँले भन्नुभयो, ‘जनै लगाउँछौं, तर चीनबाट पठाइदिन्छन्, राखी त्यस्तै । खरानीसमेत नेपालमा आयात हुन्छ, यो सुनेर आफैं अचम्मित छु ।’

सभामुख सापकोटाले विश्वभर अराजकता र एक प्रकारको अन्तरविरोध मडारिन थालेको बताउनुभयो । उहाँले संसारको ध्यान व्यापार, हतियारको होडबाजी र । सैन्य क्षेत्रमा नै केन्द्रित भइरहेको बताउनुभयो ।

सभामुख सापकोटाले नेपालमा पनि राष्ट्रिय दृष्टिकोण निर्माण गर्नुपर्ने आवश्यक्ता रहेको बताउनुभयो ।

जलवायु परिवर्तनका असर र प्रभावहरू एकपछि अर्को गरेर गम्भीर रूपमा देखापरिरहेको उल्लेख गर्दै उहाँले यसलाई समाधान गर्ने दिशामा अघि बढ्न आवश्यक रहेको बताउनुभयो । उहाँले जलवायु परिवर्तनका अकल्पनीय घटना भइरहेको बताउनुभयो ।

सभामुख सापकोटाले जलवायु परिवर्तनको शिक्षालाई राम्रोसँग अध्ययन गर्न नसके र यसका असर, प्रभावका बारेमा विश्लेषण गर्ने र बच्नेतिर ध्यान दिन नसके ठूलो दुर्घटना हुने बताउनुभयो ।

उहाँले नेपालले अहिले हरित क्रन्तितिर नै ध्यान दिनुपर्ने आवश्यक्ता रहेको भन्दै पर्यावरण र वातावरण संरक्षणमा ध्यान दिन अति जरुरी भएको बताउनुभयो ।