
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको असर ट्रेजरी बिल्समा देखिएको छ ।
मौद्रिक नीति मार्फत राष्ट्र बैंकले बैंकदर साढे आठ प्रतिशत पुर्याएपछि ट्रेजरी बिल्स ब्याजदर १४ प्रतिशत पुगेको हो । राष्ट्र बैंकले १५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल्स नवीकरणका लागि बोलपत्र आह्वान गरेकोमा बैंकहरुले १३ दशमलव ९९ प्रतिशतसम्म ब्याज तिरेर ट्रेजरी बिल्स किन्ने प्रस्ताव गरेका छन् ।
राष्ट्र बैंकले २ अर्बको २८ दिने ट्रेजरी बिल्स तथा १३ अर्ब ६० करोड रुपैयाँको ९१ दिने ट्रेजरी बिल्स बिक्रीका लागि बोलकबोल आह्वान गरेको हो । जसमा बैंकहरुले अहिलेसम्मकै उच्च १३ दशमलव ९९ प्रतिशतसम्म ब्याजदर प्रस्ताव गरेका हुन् ।
लगानीको सबैभन्दा सुरक्षित मानिएको ट्रेजरी बिल्समै १४ प्रतिशत ब्याज दिन बैंकहरु तयार हुनुलाई चरम तरलता अभावको संकेतको रुपमा विज्ञहरुले लिएका छन् ।
चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको सरकारले राष्ट्र बैंक मार्फत एक वर्षभन्दा कम समयका लागि ट्रेजरी बिल्स, विकास ऋणपत्र, नागरिक बचतपत्र तथा बैदेशिक रोजगार बचतपत्र जस्ता औजारहरु प्रयोग गर्ने गर्दछ ।
सोही क्रममा राष्ट्र बैंकले २८ दिने र ९१ दिने ट्रेजरी बिल्स जारी गर्न लागेको हो । छोटो अवधिका सरकारी औजारहरुमा चर्को ब्याज प्राप्त हुनुलाई विज्ञहरुले उल्टो उपलब्धि भन्ने गर्दछन् । यस्तो सूचकले मन्दीको संकेत गर्ने पनि उनीहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्