३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


शिक्षित बेरोजगारीको देशका प्रमुख समस्या : प्रवक्ता कार्की


169
Shares

काभ्रे । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशको सबैभन्दा ठूलो समस्या शिक्षित बेरोजगारी रहेको बताउनुभएको छ ।

बेथानचोक गाउँपालिका–२ ढुंर्खमा रहेको पार्वती बहुमुखी क्याम्पसको प्रथम क्याम्पससभालाई सम्बोधन गर्दै मन्त्री कार्कीले शिक्षित बेरोजगारलाई रोजगारी उपलब्ध गराउन नसकेसम्म देशले विकासको गति नलिने बताउनुभयो ।

प्रमुख चुनौतीको रूपमा रहेको बेरोजगारी समस्या समाधानका लागि शिक्षालाई बदलिँदो परिस्थिति र आवश्यकता अनुसार अगाडी बढाउनुपर्नेमा मन्त्री कार्कीको जोड छ । शिक्षा प्रमाणपत्र प्राप्त गर्ने माध्यम जस्तो मात्रै भएको उहाँको भनाइ छ ।

कुनै विद्यालय, क्याम्पस र विश्वविद्यालयबाट प्रमाणपत्र प्राप्त गरेपछि त्यो प्रमाणपत्र समाजका लागि, परिवारका लागि र व्यक्तिका लागि उपयुक्त हुन सकेन भने त्यो प्रमाणपत्र कालान्तरमा कागजको खोस्टोको रूपमा परिणत हुने मन्त्री कार्कीले बताउनुभयो ।

मन्त्री कार्कीले पूर्वाधारको विकास नभई मुलुकको दीगो आर्थिक विकास सम्भव नहुने दाबी गर्नुभयो । प्रकृतिले दिएका जलस्रोत, पर्यटन र कृषि क्षेत्रलाई अवसरका रूपमा रुपान्तरण गर्न सकियो भने नेपाल १० वर्षभित्रमा दक्षिण एसियाकै धनी देश हुने उहाँको दाबी छ ।

कार्यक्रममा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले पर्यटकीय क्षेत्रको विकास र पुर्वाधारको विकासका लागि संघिय सरकारबाट पनि पहल गरिदिन मन्त्री कार्कीलाई आग्रह गर्नुभएको थियो ।