
काठमाडौं । सरकारले २ अर्ब ३२ करोड अनुदान सहयता स्वीकार गर्ने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सबैको लागि दिगो खानेपानी तथा सरसफाई आयोजनाको लागि युरोपियन युनियनबाट प्राप्त हुने युरो १०.५ मिलियन (करिव १ अर्ब ३७ करोड) रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको बताउनुभयो ।
यस्तै, सरकारले गुणस्तरीय प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिम परियोजना पहिलो चरण कार्यान्वयनको लागि स्वीट्जरल्याण्डबाट प्राप्त हुने स्विस फ्र्यांक ७.४७ मिलियन (करिव ९५ करोड) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी, सरकारले साउन ३० देखि भदौ १० गतेसम्म संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा सञ्चालन हुने इन्टर गभर्मेण्टल कन्फ्रेन्सको पाचौं सत्र आईजीसीभीमा नेपालको तर्फबाट सहभागिताका लागि कानून तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा र सहसचिव कुशलचन्द्र सुवेदीको भ्रमण स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।
चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई मनोनित गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सदस्य पदमा डा. प्रकाशराज रेग्मी र डा. नविनचन्द्र गौतमलाई मनोनयन गर्ने, राष्ट्रिय जनस्वास्थ्य समितिको सदस्यमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई मनोनयन गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्