१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सुदूरपश्चिममा कोरोना संक्रमण बढ्यो, नाकाहरूमा जाँच कडाइ


117
Shares

बैतडी । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणदर बढ्दै गएको छ । भारतसँग सीमा जोडिएको यस प्रदेशमा हाल दिनहुँ कोरोना संक्रमणदर बढ्दै गएको हो ।

साउन १ गते यता यस प्रदेशमा ७५ जनामा संक्रमण पुष्टि भइसकेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गत असार ३२ गते शून्यमा झरेको संक्रमणदर त्यसयता बढ्दै गएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो ।

भारतमा कोरोना संक्रमण बढ्दै गएकाले सीमा जोडिएको प्रदेश सुदूरपश्चिममा पनि देखिन थालेको हो । जोखिम बढ्दै गएकोले सतर्कता अपनाइएको जोशीले बताउनुभयो ।

जोखिम बढेकाले यहाँका भारतसँग सीमा जोडिएका सबै नाकाहरूमा स्वास्थ्य चेकजाँचमा कडाइ गरिएको छ । पूर्व निर्धारित कार्यक्रमअनुसार नै सीमाक्षेत्रको जोखिम व्यवस्थापनको काम भइरहेको हो ।

उहाँले भन्नुभयो, ‘सीमा नाकामा हेल्थ डेस्क स्थापना गरेर आवश्यक जनशक्ति परिचालन गरेर परीक्षण र खोपको काम निरन्तर रूपमा भइरहेको छ ।’

यसका साथै कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोना विरुद्धको खोप अभियानलाई प्राथमिकतामा राखिएको छ । ५ वर्षमाथिका सबै बालबालिका र बुस्टर डोजको मात्रा पनि सबैलाई दिइने कार्य निरन्तर रूपमा भइरहेको जनाइएको छ ।

भारतसँग सीमा जोडिएको यस प्रदेशमा समेत कोरोना संक्रमण बढेकोले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्न निर्देशनालयको आग्रह छ ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म ५ लाख ५६ हजार ९७५ जनाको कोरोना परीक्षण गरिएकोमा ५९ हजार ८१६ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

संक्रमणकै कारण यस प्रदेशमा ६३३ जनाको ज्यान गइसकेको छ ।